
काठमाडौं । भनिन्छ, ‘बाह्र वर्षमा खोलो पनि फर्कँछ ।’ तर, यहाँ खोला होइन, एउटा गीत पुरानै लयमा फर्किएको छ । अर्थात, एक दशकअघि नेपाली सांगीतिक क्षेत्रमा तहल्का मच्चाएको गीत ‘तिम्ले बाटो फेर्यौं अरे’ अहिले पुनः चर्चामा आएको छ ।
म्युजिक निर्देशक क्रियटर एवं मोडलसमेत रहेका गीतकार दर्पण राईको शब्दरचना रहेको ‘तिम्ले बाटो फेर्यौं अरे’ गीत सन् २०१५ मा अत्याधिक लोकप्रिय बनेको थियो । त्यो समय उक्त गीतको भिडियोले युट्युब ट्रेडिङमा छलाङ मार्दै रेकर्ड राख्न सफल भएको थियो ।
यो गीतलाई मेल भर्सनमा लोकप्रिय गायक राजेशपायल राई र फिमेल भर्सनमा गायिका मेलिना राईले गाएकी हुन् । मेलिनाले गाएको उक्त गीतको भिडियोलाई त्यो समयमा एक करोडभन्दा बढी भ्युअर्स पाएर रेकर्ड बनाएको हो । त्यो समयमा फिल्मी गीतले मात्र युट्युबमा एक करोड भ्युअर्स पाउन्थ्यो ।
तर, ‘तिम्ले बाटो फेर्यौंअरे’ गीतको भिडियोले छोटो समयमै एक करोडभन्दा बढी भ्युअर्स बटुल्दै पहिलोपटक करोड क्लवमा प्रवेश गर्ने नेपाली आधुनिक गीतमा दर्ज भएको थियो । यतिमात्र नभएर ‘तिम्ले बाटो फे¥यौं अरे’ गीत मेलिना राईको सांगीतिक यात्रामै टर्निङ प्वाइन्ट बनेको थियो ।
तर, अहिले मेल भर्सन चर्चामा आएको छ । सांगीतिक रियालिटी शोको जारी ‘द भ्वाइस नेपाल’को छैटौँ सिजनमा ‘ब्लाइण्ड अडिसन’मा दीपक विश्वकर्माले गाएपछि यो गीत पुनः चर्चामा आएको हो । यो गीत अहिले सामाजिक सञ्जाल तथा भिडियो शेयरिङ एप टिकटकमा भाइरल बनेको छ । यो समाचार तयार पारिरहँदा टिकटकमा यो गीतको दुई लाखभन्दा बढीले भिडियो बनाइसकेका छन् । अझै दैनिक सयौँले यो गीतमा टिकटक युजरले भिडियो बनाउने क्रम रोकिएको छैन ।
साथै, युट्युबमा अर्जिनल भर्सनमा समेत भ्युअर्स ह्वातै बढेको छ । उक्त गीतका गीतकार दर्पण राईका अनुसार ‘तिम्ले बाटो फेर्यौं अरे’ गीतको तीन/चार दिनमै करिब तीन लाख भ्युअर्स बढेको छ । हालसम्म यो गीतको स्टुडियोमा खिचिएको भिडियो २४ मिलियनभन्दा बढीले हेरिसकेका छन् ।
‘तिम्ले बाटो फेर्यौं अरे’को चर्चासँगै ‘द भ्वाइस अफ नेपाल’मा दीपक विश्वकर्मा दर्शकदेखि कोचसम्मको नजरमा परेका छन् । यतिसम्म कि दीपकलाई यस पटक ‘भ्वाइस अफ नेपाल’को दावेदारका रुपमा समेत प्रस्तुत गर्न थालेका छन् ।
दश वर्षअघि रेकर्ड भएको यो गीत फिमेल भर्सन जस्तो मेल भर्सन चर्चामा आएको थिए । रुचाउन चाहिँ दर्शक तथा श्रोताले रुचाएका थिए । राजेशपायलले पनि अधिकांश स्टेज कार्यक्रममा ‘तिम्ले बाटो फे¥यौं अरे’ अहिले पनि गाउँदै आएका छन् । दर्शककै अनुरोधमा देश विदेशमा राजेशपायल राई ‘तिम्ले बाटो फेर्यौं अरे’ गाउन छुट्याउँदैनन् ।
यसै गीतमार्फत गीतकारको पहिचान बनाएका दर्पण राई अहिले पुनः हौसिएका छन् । ‘पुनः फिमेल भर्सनमा यो गीत रेकर्ड गरौँ भन्ने सोच्दैछु’ गीतकार दर्पणले भने, ‘यो गीत रेकर्ड भएको एक दशक भइसकेकाले नयाँ भर्सनमा गर्ने सोच बनाएको हुँ ।’ उनले ‘तिम्ले बाटो फेर्यौं अरे’ गीतलाई मेल भर्सनमा नयाँ गर्ने सोच बनाएको सुनाए ।
‘मेल भर्सनमा नयाँ रेकर्ड गरेर चाँडै भिडियो बनाउने सोच बनाएको छु’ उनले भने, ‘तर, अहिले मेल भर्सनको चर्चा आइरहँदा फिमेल भर्सनमा गरौँ कि जस्तो लाग्दैछ ।’ उनले मेल वा फिमेल चाँडै नयाँ भर्सन आउने बताए । यो गीतको विभिन्न भर्सनमा आइसकेको छ ।