काठमाडौंको न्यूनतम तापक्रम किन उकालो लाग्दैछ ?
अखबार टुडे
प्रकाशित:
२०८१, ३ पुष

काठमाडौं । काठमाडौं उपत्याकामा शनिबारको तुलनामा चिसो कम भएको छ । शनिबार काठमाडौंमा यो वर्षकै बढी चिसो महशुस भएको थियो । त्यसदिन न्यूनतम तापक्रम २ डिग्री सेल्सियस पुगेको थियो ।

जुम्लामा त्यसदिन न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियस पुगेको थियो । शनिबारको मौसमले चिसो ह्वात्तै बढ्ने अनुमान गरिएको थियो । तर, आइतबारदेखि मौसम सुधार भयो ।

आइतबार काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको थियो। त्यसयता काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसभन्दा घटेको छैन बरू केही बढेको छ भने सोमबार र मंगलबार ४.८ डिग्री सेल्सियस मापन भएको थियो ।

यस्तै, आज काठमाडौं उपत्याकाको न्यूनतम तापक्रम ५.१ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद मीनकुमार अर्यालका अनुसार राति आकाशमा बादल जम्मा हुँदा र कम हावा चल्दा न्यूनतम तापक्रम अघिल्लो दिनको भन्दा केही बढ्न सक्ने छ ।

उनका अनुसार बढी हावा चल्यो भने न्यूनतम तापक्रम घट्न सक्छ । तर, आकाश सफा छ र हावा पनि बढी चलेको छ भने त्यो दिन फेरि तापक्रम घट्न पनि सक्ने उनले बताए । शनबारको तुलनामा न्यूनतम तापक्रम बढ्नु भनेको राति कम हावा लागेको छ भन्ने बुझिने उनको भनाइ छ ।

मौसमविद् अर्यालले तत्काल कुनै प्रणालीहरू नभएका कारण तापक्रम केही दिन यही सेरोफेरोमा रहने बताए । चिसो बढ्ने समय भएकाले न्यूनतम तापक्रम बढ्दै जाने चाहीँ हुँदैन ।

हाल पश्चिमी वायुको प्रभाव र पानी पर्ने सम्भावना अझैपनि कायम छ । तत्काल २÷४ दिनलाई देखिँदैन तैपनि कुनैपनि पानी परिहाल्यो भने तापक्रम घट्ने उनले बताए । उनले भने, ‘पानी नै नपरेपनि अधिकतम तापक्रम घट्यो भने त्यसले न्यूनतम तापक्रम पनि घटाउँछ ।’

काठमाडौंको अधिकतम तापक्रम बुधबार १८ देखि २० डिग्री सेल्सियससम्म रहने पूर्वानुमान छ । बिहीबार देशैभरिको मौसम सफा रहने मौसमविद् अर्यालले बताए । कोशी र कर्णालीको पहाडी भूभागमा सामान्य बदली हुने पूर्वानुमान रहेको उनले बताए ।

प्रतिक्रिया