काठमाडौं । सरकारले अंग्रेजी नयाँ वर्ष (१ जनवरी २०२५) अर्थात १७ पुस २०८१ देखि सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाउने भएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले बुधबार सबै हेलिकप्टर कम्पनीलाई पत्र लेख्दै उक्त निर्णयबारे जानकारी गराएको हो ।
निकुञ्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिका, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाको बैठकले उक्त निर्णय गरेको हो । निर्णय अनुसार अब पर्यटक तथा स्थानीयको उद्धार तथा मालसामान ढुवानी बाहेक व्यावसायिक रूपमा हेलिकप्टर उडाउन पाइने छैन ।
सगरमाथा राष्ट्रिय निकुञ्जभित्र उडान तथा अवतरण गर्ने विभिन्न कम्पनीका हेलिकप्टरले उडान–अवतरण गर्नुअघि निकुञ्ज कार्यालयबाट अनुमति लिएर मात्र उडान गर्नुपर्छ । तर, यस्तो काम प्रभावकारी नभएको र राजस्व चुहावट समेत भएको भन्दै निकुञ्जले अब व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेको हो ।
हेलिकप्टर कम्पनीले मनपरी ढंगले उडान–अवतरण गर्दा निकुञ्जको वन तथा वातावरण र वन्यजन्तुको सुरक्षामा समेत चुनौती थपिएको कार्यालयले जनाएको छ । यसले मानव बस्तीमा ध्वनि प्रदूषण बढाएको समेत निकुञ्जले हेलिकप्टर सेवा प्रदायक कम्पनीलाई पठाएको पत्रमा उल्लेख छ ।
निकुञ्ज कार्यालयका अनुसार अब निकुञ्जको कोर तथा मध्यवर्ती क्षेत्रमा व्यावसायिक प्रयोजनमा हेलिकप्टर उडान–अवतरणमा पूर्णरोक लागेको छ ।
निकुञ्ज भ्रमण गर्न आउने पर्यटक, स्थानीय र पदमार्गीको स्वास्थ्य ध्यानमा राख्दै सर्तसहित उद्धार उडान भने गर्न पाइने छ । जसमा नजिकैको स्वास्थ्य संस्था, मध्यवर्ती उपभोक्ता समिति र वडा कार्यालयलाई मौखिक÷लिखित सिफारिसपछि मात्र निकुञ्जले अनुमति दिने छ ।
उद्धार उडान गर्नुपर्ने अवस्था आए निकुञ्जबाट पूर्वसहमति लिएर हेलिकप्टर अवतरण गर्ने स्थान तय गर्नुपर्ने छ । उद्धार हुने व्यक्तिको विवरण निकुञ्ज कार्यालयमा पेस गर्नुपर्ने भएको छ ।
हेलिकप्टरमा उद्धार (रेस्क्यु) गर्नुपर्ने पर्यटक बाहेक अरूलाई ओसारपसार गर्न रोक लगाइएको छ । खुम्बु क्षेत्रको भौगोलिक अवस्था मध्यनजर गरी स्थानीय स्तरमा आवश्यक सामग्री ढुवानीका लागि भने पूर्वसहमतिमा कार्गो उडान गर्न पाइने छ । सगरमाथा आरोहणका लागि कार्गो ढुवानी गर्न पाङबोचे भन्दा माथिल्लो क्षेत्रमा अवतरण गर्न पाइने छैन ।