एनपीएल : जनकपुरको अपराजित यात्रामा ब्रेक
अखबार टुडे
प्रकाशित:
२०८१, २६ मंसिर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चार खेल जितेको जनकपुर बोल्ट्सको अपराजित यात्रामा सुदूरपश्चिम रोएल्सले बुधबार ब्रेक लगाएको छ ।

सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स ५१ रनमै अलआउट भयो । एनपीएलमा यो सबैभन्दा कम स्कोर हो । किशोर महतोको ४ विकेट मद्तमा विपक्षीलाई १२३ रनमै रोकेको जनकपुरले दोस्रो इनिङ्समा ब्याटिङ गर्दा निकै कमजोर प्रदर्शन गर्दा १२।१ ओभर मात्र क्रिजमा टिक्न सक्यो ।

जनकपुरका कप्तान अनिल शाहले पहिलो हारपछि प्लेअफ अघि नै यस्तो प्रदर्शन हुँदा टिम परीक्षण भएको बताए । ‘प्लेअफ अघि नै यस्तो हुँदा खासै ठिकै भयो’, उनले भने ।

जनकपुरको पहिलो हारपछि अंकतालिका रोचक बनेको छ । सुदूरपश्चिम र जनपुरको ५ खेलबाट ४ जित र १ हारसहित समान ८ अंक छ । राम्रो नेटरनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा उक्लँदा जनकपुर दोस्रो स्थानमा झरेको छ ।

यसपछि रहेका चितवन राइनोज र कर्णाली याक्सको समान ६ अंक छ । चितवन र कर्णालीले ५ खेल खेल्दा ३ मा जित र २ हारको नतिजा निकालेको छ ।

अनिलले विकेट राम्रो भएर भन्दा पनि खराब सट खेलेर आउट भएको प्रतिक्रिया दिए । ‘हामी विकेट धेरै राम्रो भएर भन्दा पनि खराब शटहरू धेरै खेलेर आउट भएका छौं । सट सेलेक्सनमा हामी चुक्यौं,’ अनिलले पोष्ट म्याच प्रेस कन्फ्रेन्समा भने, ‘ब्याटरहरू धेरै खेलाएका थियौं अनि टप अर्डर पछिल्लो दुई खेलमा एक्सपोज भएको छ ।’ जनकपुरले अब लिग चरणमा काठमान्डु गुर्खाज र चितवन राइनोजसँग खेल्न बाँकी छ ।

प्रतिक्रिया