चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालसालै प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा गरेका समझदारी नयाँ नभएको दाबी गरेका छन् ।
मंगलबार चितवनमा पार्टीको आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफूले अघिल्लो साल प्रधानमन्त्री हुँदा गरेका समझदारीलाई नै फोटोकपी गरेर प्रचार गरिरहेको जिकिर गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘चीनले अघि सारेको बीआरआई परियोजनालाई नेपालमा पहिलोपटक समझदारी गराएको म दोस्रो पटक प्रधानमन्त्री हुँदा हो । मैले पोहोर साल चीन भ्रमणमा जाँदा संयुक्त वक्तव्यमा नै बीआरआईको कार्यान्वयन फ्रेमवर्कमा हस्ताक्षर गर्नुपर्छ र अन्तिम तयारी गर्ने कुरा गरिएको थियो ।’
उनले अगाडि थपे, ‘भारत र चीनसँग सन्तुलित सम्बन्ध दूरगामी थिए । मलाई अहिलेको प्रधानमन्त्रीलाई देख्दा अलिअलि खुसी पनि लाग्छ, अलिअलि दया पनि लाग्छ । मैले गतसाल गरेका सबैलाई फोटोकपी गरेर मैले गरेको भनेर प्रचार गरिरहनुभएको छ । ती सबै गतसाल गरिएका सहमति समझदारी हुन् ।’ ओलीले यो पटकको भ्रमणमा सिन्को समेत नभाँचेको प्रचण्डको भनाइ छ ।
‘केपी ओलीले नयाँ भनेको एउटा सिन्को पनि भाँचेको मैले देखेको छैन । तैपनि मैले गरेका कामलाई उनले मान्यता दिए’ उनले भने, ‘त्यसका लागि उहाँलाई धन्यवाद छ ।’