प्रधानमन्त्रीले भने- बीआरआईअन्तर्गत गरिएका सम्झौता अनुसार नेपालले पाउने सबै रकम अनुदान हो
अखबार टुडे
प्रकाशित:
२०८१, २० मंसिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋण सम्बन्धी कुनै सम्झौता नभएको बताएका छन् । बिहीबार चारदिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणपूर्व कुनै पनि ऋण नलिने भनिसकेको र ऋणको बारेमा चीन भ्रमणमा कुनै सम्झौत नभएको स्पष्ट पारे । उनले भ्रमणमा बीआरआईअन्तर्गत गरिएका सम्झौताअनुसार नेपालले पाउने सबै रकम अनुदान भएको पनि बताए ।

‘अस्ति नै देखि मैले हामी कुनै ऋण लिन जाँदै छैनौँ । ऋण लिनेबारे कुनै कुरा पनि चलेन । मैले यहाँ बोलेकै थिएँ । छलफल पनि भएन’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले यसपल्ट बिआरआईअन्तर्गत विभिन्न परियोजनाहरुको कुरा गरेका छौँ । हरेक परियोजनाअन्तर्गत हामी छुट्टै छलफल, छुट्टै एग्रिमेण्टहरु गर्छौं र त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने सन्दर्भमा । अहिले हामीले जे प्राप्त गरेका छौँ, त्यो ऋण होइन भन्नेकुरा धेरैपल्ट भन्या छ । अब धेरै दोहो¥याउनु नपरोस् भन्ने मेरो आग्रह छ ।’

सोहीक्रममा प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व अब १८ महिना गरेपछि आफूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए ।

उनले देउवाले डेढ वर्ष सरकारको नेतृत्वसँगै निर्वाचन गराउने र चुनावमा बहुमत ल्याउन सबै राजनीतिक दलहरुले प्रयास गर्ने बताए । बहुमत नआएको खण्डमा गठबन्धनबाट नयाँ सरकार बन्ने उनको भनाइ छ । साथै, प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे कुनै कुरा नउठेको बताए ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत थिए ।

प्रतिक्रिया