माओवादी बैठक : पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष
अखबार टुडे
प्रकाशित:
२०८१, २० मंसिर

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहीबार बसेको पदाधिकारी बैठकमा उपचुनावको समीक्षा गर्दै सबैतिर माओवादीको राम्रो जनमत आएको ठहर गरेको हो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी उपाध्यक्ष अग्नि सापकोटाले कीर्तिपुरमा हारे पनि जितकै रूपमा लिएर पार्टी कार्यकर्ता उत्साहित भएको बताए । उनले आगामी जितका लागि उपचुनावले थप आधार दिएको समेत बताए ।

उपचुनावबाट माओवादी पार्टी दोस्रो स्थानमा आएको बताउँदै सापकोटाले २०६४ पछि पार्टी पहिलोपटक एकताबद्ध भएर चुनावमा गएको बताए । उनले अब पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने जानकारी दिए ।

उपचुनावको समीक्षा गर्दै अब २०८४ को चुनावका लागि माओवादीले सबै तयारी थाल्ने बताए । ‘अबको सबै तयारी भनेको २०८४ को चुनाव जित्नका लागि हो । अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको सुशासनको अभियानलाई जनतासम्म लैजान्छौं’ सापकोटाले भने, ‘हामी बीचमा केही समय अलमलिए पनि अब जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो लागेको छ ।’

सापकोटाले २०८४ को चुनावको एजेण्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन र सांसदहरु मन्त्री नबन्ने गरी संविधानमा व्यवस्था गर्नेतर्फ रहने पनि उनले जानकारी दिए ।

यस्तै, विद्युत् प्राधिकरणमा उर्जामन्त्री दीपक खड्काले कार्यकक्ष खोलेको विषयमा असन्तुष्टि जनाएको छ । मन्त्रीले इतिहासमै नभएको विद्युत् प्राधिकरणमा कार्यकक्ष खोलेर बस्ने काम गरेको भन्दै माओवादीले विरोध जनाएको छ ।

सापकोटाले भने ‘यसले प्राधिकरणको काममा अवरोध गरेको छ । बिचौलिया र भ्रष्टाचारी जोगाउने काम गरेको छ । यसका विरुद्धमा व्यवस्थित खबरदारी सभा गर्नेछौ ।’

प्रतिक्रिया