गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता, सीमा सुरक्षाबारे छलफल
अखबार टुडे
प्रकाशित:
२०८१, २ मंसिर

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारत सीमा सुरक्षाका विषयमा कुराकानी भएको बताइएको छ ।

मन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण, मानव बेचबिखन नियन्त्रणका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्न जोड दिएका थिए । साथै, नेपाल–भारत सीमा क्षेत्रमा आम नागरिकलाई कष्ट नहुनेगरी सौहार्दपूर्ण वातावरणमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा ध्यान दिनुपर्ने उनको जोड थियो ।

नेपाल–भारत सीमा नाकामा ओहोर दोहोर गर्ने नागरिकलाई मर्यादित व्यवहार गर्न पनि गृहमन्त्री लेखकले आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

भेटवार्तामा नेपालको तर्फबाट गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सहभागी थिए ।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्चस्तरीय टोली काठमाडौं आएको हो । बैठक आज सम्पन्न हुँदैछ ।

प्रतिक्रिया