काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजिब गुरूङ उर्फ ‘दीपक मनाङे’ ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई मंगलबार सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए ।
२०६१ सालमा चक्रे मिलनलाई मनाङेले तरबार प्रहार गरेका थिए । चक्रेको हात काटिएको थियो । उक्त घटनालाई लिएर चक्रेकी श्रीमती इन्दिरा गुरुङले प्रहरीमा मनाङेविरुद्ध ज्यान मार्ने कसुर गरेको भन्दै जाहेरी दिएकी थिइन् ।
सो उजुरीमा जिल्ला अदालत काठमाडौंले घटनालाई कुटपिट भएको ठहर गरेको थियो भने केहीलाई दुई वर्ष जेल सजाय सुनाएको थियो । जिल्ला अदालतको फैसला चित्त नबुझेपछि सरकारी वकिलको कार्यालयले मुद्दामा पुनरावेदन गरेको थियो ।
पाटन पुनरावेदन अदालतले २०६९ सालमा मनाङेलाई दोषी ठहर गर्दै पाँच वर्ष जेल सजायको फैसला गरेको थियो । उक्त फैसलालाई मंगलबार सर्वोच्च अदालतले सदर गरेको हो ।