अमेरिकामा ‘राई इज किङ’को धमाका, अब यी सहरमा प्रस्तुत हुँदै
अखबार टुडे
प्रकाशित:
२०८१, १९ कार्तिक

काठमाडौं । यस पटक पनि विगतका वर्षमा झैं लोकप्रिय गायक राजेशपायल राईको दशैैं–तिहार अमेरिकाको विभिन्न राज्य तथा सहरमा कन्सर्टमै वितेको छ । यतिखेर उनी अमेरिकामै छन् ।

‘राई इज किङ’का रुपमा चर्चित राजेशपायलको एक दशक यताका दशैैं तिहार अमेरिकामै वित्दै आएको छ । त्यसैलाई निरन्तरता दिँदै यसपालि पनि उनी दशैं–तिहार लक्षित कन्सर्टमा अमेरिकामै रमाइरहेका छन् ।

दशैं–तिहारको अवसरमा अमेरिका पुगेका राजेशपायलले यस पटक सेटल वासिंगटन, एप्रोन ओहायो र लक्ष्मी पुजाको दिनमा टेक्सासस्थित अस्टिनमा सांगीतिक धमाका मच्चाएका छन् ।

टेक्सासमा आयोजित कार्यक्रममा राजेशपायलले आफ्ना नयाँ तथा पुराना गरी ३५ भन्दा बढी गीत प्रस्तुत गरे । नेपाली सांगीतिक क्षेत्रका एक मात्र ‘मेगास्टार’ राजेशपायलले लगातार करिब ५ घण्टा आफ्ना हिट नम्बरहरु प्रस्तुत गरिरहँदा दर्शकले रात वितेको पत्तै पाएनन् ।

साँझ ७ बजेदेखि बिहान १ बजेसम्म चलेको कार्यक्रममा राजेशपायलले ‘सागर सरी’, मैले मायाले दिएको चिनो’, ‘नाई नभन्नु ल’, ‘दिक्तेल बजार’, ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेउ न’, ‘सायारेम’जस्ता चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रम सोचेभन्दा भव्य र सभ्य भएको आयोजकमध्येका एक सदस्य कुशल नहर्कीले जानकारी दिए । उनले भने, ‘कार्यक्रम अत्याधिक भव्य भएको छ । राई इज किङले यहाँ धमाका मच्चाउनु भएको छ । कार्यक्रम हामीले सोचेभन्दा भव्य भयो ।’

उक्त कार्यक्रममा ‘राई इज किङ’लाई पछिल्लो केही वर्षदेखि अमेरिकामा बस्दै आएका नेपाली चलचित्रका निर्देशक नारायण पुरी र निर्माता अमीर वलीले साथ दिएका थिए ।

यसपछि अब राजेशपायल राईले सिङ्सीनाटी, लेङ्कास्टर, हेरिसवर्ग र कोलम्बसमा प्रस्तुत हुँदैछन् । त्यसका लागि तयारी भइसकेको आयोजकले जनाएको छ ।

नेपालमा भन्दा विदेश कार्यक्रममा बढी व्यस्त रहने राजेशपायल केही समययता सांगीतिक वल्र्ड टुरका क्रममा छन् । नेपाल आएलगत्तै डेनमार्कबाट युरोप टुरमा निस्कने राई इज किङको सेडुअल रहेको छ ।

प्रतिक्रिया