साफ वुमन्स च्याम्पियनसीप : उपविजेतामै सिमित नेपाल
अखबार टुडे
प्रकाशित:
२०८१, १४ कार्तिक

काठमाडौं । नेपाल यसपटक पनि साप च्याम्पियन बन्नबाट चुकेको छ । बुधबार भएको साफ वुमन्स च्याम्पियनसीप–२०२४ को फाइनलमा नेपाल घरेलु मैदानमै बंगलादेशसँग पराजित हुँदै उपविजेतामै सिमित भएको छ ।

बुधबार भएको साफ वुमन्स च्याम्पियनसीप २०२४ को फाइनलमा घरेलु टोली नेपाललाई २–१ ले हराउँदै बंगलादेशले लगातार दोस्रोपटक उपाधि जितेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशका लागि ५२औं मिनेटमा मोनिका चक्मा र ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल गरे । नेपालका लागि अमिशा कार्कीले ५६ औं मिनेटमा मात्र एक गोल फर्काइन् ।
बंगलादेशका दुई डिफेण्डरले सुरुवातदेखि नै नेपालकी मुख्य खेलाडी सावित्रा भण्डारीलाई मार्क गरेका थिए ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । दुवै टोलीको एक–एक प्रहार बारमा लागेको थियो । पहिलो हाफको सुरुवाती केही मिनेटपछि नै नेपालले खेलमा दबाब बनाएको थियो । दोस्रो मिनेटमै नेपालको गल्तीमा बंगलादेशले राम्रो अवसर पाएको थियो ।

गोल पोष्टबाट बल चलाउने बेला गीता राना बल हान्ने बेला चिप्लिएपछि बंगलादेशकी तोहुरा खातुनले वान भर्सेस वानको अवस्थामा हानेको प्रहार बारमा लागेर फर्कंदा नेपाल भाग्यमानी बनेको थियो । रिबाउण्डमा तोहुराले नै हानेको बल गोलकिपर एन्जिलाले समाइन् । अमिसाले त्यसपछि पनि गोल गर्ने अवसर पाएकी थिइन् तर फिनिसिङमा चुकिन् ।

१९औं मिनेटमा नेपालकी अमिशा कार्कीले बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहार बारमा लागेर फर्कंदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो । ३३औं मिनेटमा बंगलादेशले बक्स नजिकै फ्रिकिक पाएको थियो । तर मोनिका चक्माको प्रहार पोष्टभन्दा बाहिर गयो ।

यस्तै, दोस्रो हाफमा नेपाली टिममा दुई परिवर्तन भएको थियो । पूजा रानाको स्थानमा समीक्षा घिमिरे र सरु लिम्बुको स्थानमा रश्मिकुमारी घिसिङ मैदान प्रवेश गरेका थिए ।

५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बंगलादेशले पहिले अग्रता लियो । कप्तान सबिना खातुनको पासमा मोनिकाले गोल गरेकी थिइन् । तर त्यो गोल धैरै समय टिकेन । त्यसको चार मिनेटपछि नै अमिशा कार्कीले नेपालको लागि बराबरी गोल फर्काइन् ।

त्यसपछि पनि दुवै टोलीले अगता लिने अवसर पाएका थिए । ६१ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले बायाँ साइडबाट हानेको बल पोष्ट नजिकबाट बाहिर गएको थियो ।

६७औं मिनेटमा नेपाली गोलकिपर एन्जिलाले मोनिका चक्माको प्रहार उत्कृष्ट बचाउ गर्दा बंगलादेशले अग्रता लिने अवसर गुमाएको थियो । तर ८१औं मिनेटमा ऋतु पोर्ना चक्माले उत्कृष्ट गोल गर्दै बंगलादेशलाई फेरि अग्रता दिलाइन् । उनले बायाँ साइडबाट बक्समा हानेको क्रस सिधै गोलमा परिणत भयो । नेपाली किपर एन्जिलाले बचाउने प्रयास गरे पनि असफल भइन् ।
ऋतुले गोल गर्दै दशरथ रंगशालमा उपस्थित १५ हजार भन्दा बढी दर्शकलाई साइलेन्ट बनाइन् । उनको सेलेब्रेसन पनि त्यस्तै शैलीको थियो ।

त्यसपछि नेपाली दर्शकले लगातार ‘नेपाल नेपाल’ भनेर हुटिङ गरिरहेका थिए । नेपाल बराबरी गोल फर्काउन प्रयास गरिरहे पनि सफल हुन सकेन । घरेलु मैदानमा साफको उपाधि जित्ने नेपालको लक्ष्य तेस्रो प्रयासमा पनि पूरा भएन ।
यसअघि २०१९ मा विराटनगरमा भएको साफमा भारतसँग फाइनलमा हारेको नेपाल २०२२ मा काठमाडौंमै बंगलादेशसँग पराजित भएको थियो ।

नेपाल साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशसँग दोस्रो पटक पराजित भएको हो । सन् २०२२ मा भएको छैटौं संस्करणमा नेपाल बंगलादेशसँग दशरथ रंगशालामै ३–१ ले पराजित भएको थियो ।

साफमा नेपालले सर्वाधिक छैटौं पटक फाइनल खेलेको छ । बंगलादेश तीन पटक फाइनल खेल्दा दुई पटक उपाधि जितेको छ । बंगलादेश सन् २०१६ को फाइनलमा भारतसँग पराजित भएको थियो। नेपाल सन् २०१०, २०१२, २०१४ र २०१९ को फाइनलमा भारतसँग पराजित भएको थियो । सन् २०१६ मा नेपाल सेमिफाइनलमै भारतसँग पराजित भएको थियो ।

नेपालले साफ वुमन्स च्याम्पियनसिपमा घरेलु मैदानमा लगातार तेस्रो पटक फाइनल खेलेको हो । पछिल्लो डेढ दशकमा नेपाले १२औं पटक फाइनल खेलेको हो । सन् १९८६ मा एएफसी वुमन्स च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको नेपाली महिला टोलीले सन् १९८९ र १९९९ मा पनि एएफसी च्याम्पियनसिप खेलेको थियो ।

प्रतिक्रिया