सहकारी प्रकरण : ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न पत्राचार
अखबार टुडे
प्रकाशित:
२०८१, ६ कार्तिक

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको बचत रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे सीआईबीले अनुसन्धान गरिरहेको छ । सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सीआईबीमा जाहेरी दिएका थिए ।

कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ सो सहकारीको प्रबन्ध निर्देशक हुन् । बर्दिया घर भएका ज्योति भण्डारीले पनि सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ । भण्डारी कम्बोडियामा लुकेको आशङ्का गरिएको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादव विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ । धनराज गुरुङ र ज्योतिले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन् विच्छेद गरेको भेटिएको छ ।

प्रतिक्रिया