रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो
अखबार टुडे
प्रकाशित:
२०८१, ४ कार्तिक

पोखरा । सहकारीको बचत अपचलन मुद्दामा पक्राउ परेका रास्वपा सभापति एवं पूर्वगृमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराइएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लामिछानेलाई आज अदालत उपस्थित गराइएको हो । उनलाई शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ गरिएको थियो ।

लगत्तै पोखरा लगिएका लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी शनिबार बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो ।

शनिबार सार्वजनिक बिदा भएकाले आइतबार अदालतमा उपस्थित गराइएको हो । अदालत बाहिर लामिछानेका समर्थक र सहकारी पीडित दुवै पक्ष जम्मा भएका छन् । रवि लामिछाने समर्थकले सहिद चोक र सहकारीपीडित पक्षधरले राष्ट्र बैंक चोकमा छुट्टाछुट्टै भेला डाके पनि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

रविको पक्राउको विरोध गर्दै रास्वपाले प्रदर्शन गर्दै आएको छ । रविलाई अदालतमा लानुअघि कास्की जिल्ला प्रशासन कार्यलयले निषेधित क्षेत्र घोषणा गरेको थियो । तर, निषेधित क्षेत्रमै रास्वपा कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया