काठमाडौं । सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि अनुसार उक्त राहत रकम दिने निर्णय गरेको हो ।
एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (मंगलबार) चार बजे पत्रकार सम्मेलन गरेर राहतको अरु प्याकेज घोषणा गर्ने पनि आजको बैठकमा निर्णय भएको छ ।
साथै बैठकले राहतकोषमा एक अर्ब रकम अर्थ मन्त्रालयबाट उपलब्ध गराउने निर्णय पनि भएको छ । त्यसबाहेक प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ । बैठकमा प्रधानमन्त्रीले आफ्नो अमेरिका भ्रमणको ब्रिफिङ गर्दै भ्रमण सफल र फलदायी भएको जनाएका थिए ।
साथै मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्का कारण १० दिनसम्म बेपत्ता रहेका सदस्यलाई मृतककै रूपमा मानेर परिवारलाई २ लाख दिने निर्णय गरेको हो ।
यस्तै, सरकारले ३ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । यस्तै राष्ट्रिय झण्डा आधा झुकाउने बैठकले निर्णय गरेको छ ।