काठमाडौंं । गृह मन्त्रालयले बाढी पहिरोले क्षति पु¥याएका राजमार्गमध्ये बिपी राजमार्गबाहेक अन्य राजमार्ग चाँडै खुलाउने गरी सरकारले काम गरिरहेको जनाएको छ ।
आइतबार साँझ केन्द्रीय सुरक्षा समितिको बैठकपछि पत्रकार सम्मेलनमा गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले असोज १० गतेयता बाढीपहिरो र डुबानबाट १७० जनाको मृत्यु भएको, ४२ जना बेपत्ता भएको र १११ जना घाइते जानकारी दिए ।
विपद् प्रभावितहरूको खोज तथा उद्धारमा सबै सुरक्षा निकायहरू परिचालन गरी निरन्तर खटिएको र अहिलेसम्म सरकारले ४ हजार विपद् प्रभावितको उद्धार गरेको उनले जानकारी दिए ।
आइतबारमात्र काभ्रे, सिन्धुली र ललितपुरका विभिन्न स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत १६५ जनाको उद्धार गरेको पनि गृह मन्त्रालयले जनाएको छ । उनीहरूलाई खाद्यान्न तथा राहत सामाग्री प्रदान गरेको र घाइतेहरूको सरकारी अस्पतालमा उपचारको व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ ।
अवरुद्ध सबै राजमार्गहरू तत्काल सुचारु गर्न पहल भइरहेको र झ्याप्ले खोलको अवरोध हटाएर आजैदेखि यातायात सञ्चालन हुनेगरी काम गरिरहेको उनले बताए ।
‘योसँगै अन्यराजमार्गको अवरोध पनि तत्काल हटाउने प्रयास भइरहेको छ । दसैँका लागि टिकट बुकिङ गरेर घर जान लागेका यात्रुहरूलाई विना अवरोध घर पुग्नेगरी काम भइरहेकोको छ’ गृह मन्त्रालयका प्रवक्ता तिवारीले भने, ‘बिपी राजमार्गमा अलि ठुलो क्षती भएकाले केहीसमय लाग्ने देखिएको छ ।’