भक्तपुरको विभिन्न क्षेत्र डुबानमा, पाँच जना बेपत्ता
अखबार टुडे
प्रकाशित:
२०८१, १२ आश्विन

भक्तपुर । निरन्तर भारी वर्षाले भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेको छ । सो क्षेत्रमा पहिरो र बाढीमा परी पाँच जना बेपत्ता भएका छन् । बाढी र डुबानका कारण जनजीवन अस्तव्यस्त भएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीका अनुसार ठिमीमा पहिरोले चारजना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका छन् । उनीहरुको नाम ठेगाना नखुलेको र खोजीकार्य जारी रहेको उनले बताए ।

मनोहरा, हनुमन्ते घट्टेखोलाको बाढीले सडक र बस्ती डुबानमा परेको छ । घट्टेखोलाले पुल नै भत्काएको छ । भक्तपुरको सिद्धी स्मृति अस्पताल, जगाती, इवामुरी अस्पताल, सल्लाघारी, महेश्वरी खेल मैदान, राम मन्दिर, राधेराधे लगायतका क्षेत्र जलमग्न छन् ।

यस्तै, भक्तपुर अस्पताल जलमग्न भएको छ । जसका कारण उपचारका लागि आउने बिरामी, कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समस्यामा परेका छन् । बाराहीस्थान लगायत क्षेत्र र धान खेतहरु पनि डुबानमा परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार जगाती लगायतका क्षेत्रबाट करिब ५० जनालाई उद्धार गरिएको छ । नेपाली सेना, प्रहरी, भक्तपुर नगरपालिकाको जनप्रतिनिधि लगायतको टोली टोली डुबान प्रभावित क्षेत्रमा पुगेर उद्धारको काम जारी राखेको छ ।

प्रतिक्रिया