नौबिसेमा पहिरो खसेपछि यात्रु बीच बाटोमै रोकिए
अखबार टुडे
प्रकाशित:
२०८१, ११ आश्विन

काठमाडौं । गएरतिदेखि अविरल वर्षासँगै पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । सुरुङमार्गनजिकै लेदोसहित पहिरो खसेपछि दुईतर्फी अवरुद्ध भएको हो ।

निरन्तर पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा सवारीसाधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् ।

नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

अत्यधिक वर्षाले पहिरो झरेर क्षति पुग्न सक्ने भएकाले असोज ११–१२ गते दुई दिन हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन सरकारले अनुरोध गरेको छ ।

मनसुन सक्रिय हुनुभन्दा अगाडि नै जल तथा मौसम विज्ञान विभागले ५६ जिल्ला उच्च जोखिमको सूचीमा रहेको भन्दै सावधानी अपनाउन भनेको थियो । विभागका मौसमविदहरुका अनुसार अहिलेको प्रणालीको असर आइतबारसम्म देखिने छ ।

प्रतिक्रिया