रेशम-रञ्जिताको मिलन : नाउपाले बोलायो असोज १८ र १९ गते केन्द्रीय समितिको बैठक
अखबार टुडे
प्रकाशित:
२०८१, ९ आश्विन

काठमाडौँ । अन्ततः नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठ र संस्थापक नेता रेशमलाल चौधरीबिचको विवाद समाधान भएको छ । रञ्जिता र रेशमबीच सहमति भएसँगै असोज १८ र १९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

अब सो पार्टीमा दुवैजना अध्यक्ष रहने सहमति भएको छ । पार्टीको प्रथम महाधिवशेनबाट रेशमलाल चौधरी अध्यक्षमा चयन भएका थिए । तर, निर्वाचन आयोगमा परेको उजुरीको कारण उनको अध्यक्ष पद विवादमा परेको थियो । त्यसपछि रञ्जिता श्रेष्ठले आफू नै अध्यक्ष रहेको घोषणा गरेकी थिइन् ।

अध्यक्ष पदलाई लिएर दुवै जनाबिच विवाद उत्पन्न भएको थियो । रेशम र रञ्जिता श्रीमान–श्रीमती हुन् । दुवै पक्षबिच विवाद यति उग्र भयो कि पार्टी कार्यालयमा दुवै पक्षबिच हात हालाहाल समेत भएको थियो ।

त्यसयता पार्टी दुई गुटमा विभाजित भएको थियो । रेशमलाल चौधरी महाधिवेशनबाट आफू अध्यक्ष भएको दाबी गरिरहेका थिए भने रञ्जिता श्रेष्ठले आफू नै अध्यक्ष रहेको दाबी गर्दै आएकी थिइन् ।

विवादका क्रममा दुवै समूहले आ–आफ्नो शक्ति प्रदर्शन समेत गरेका थिए । लामो विवादपछि दुवैजनाबिच सहमति भएको पार्टीका एकजना पदाधिकारीले बताए ।

महाधिवेशनबाट बनेको अध्यक्षबारे निर्वाचन आयोगमा मुद्दा विचाराधीन रहेका कारण पार्टीमा अध्यक्षको हैसियताले हस्ताक्षर रञ्जिता श्रेष्ठको चल्छ भने बाँकी काम रेशम चौधरीले गर्ने सहमति भएको छ ।

आगामी केन्द्रीय समितिको बैठकबाट पार्टीको संगठन निर्माण तथा सुदृढीकरणको विषयमा विस्तृत छलफल हुने रेशमलालले बताए । अब पार्टीमा कुनै प्रकारको विवाद नरहेको चौधरीको भनाइ छ । पार्टीभित्र उत्पन्न आन्तरिक विवादका कारण केही समय स्थगित भएको बैठक फेरि बस्ने बताउँदै उनले आपसी मतभेदलाई मत्थर पारी एकीकृत भएको दावी गरे ।

प्रतिक्रिया