सहकारी प्रकरण : रविविरुद्ध पूरक अभियोग लैजाने तयारी
अखबार टुडे
प्रकाशित:
२०८१, ४ आश्विन

काठमाडौंं । सहकारीको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले पूरक अभियोग लैजाने भएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी प्रकरणमा लामिछानेविरुद्ध प्रमाण संकलन गर्न प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कास्कीलाई भनेको छ ।

संसदीय छानबिन समितिको सिफारिसको आधारमा पूरक अभियोगको तयारी गर्न कास्की प्रहरीलाई ‘मौखिक निर्देशन’ दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सुर्यदर्शन सहकारीको रकम हिनामिनामा पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने र पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुन पनि संलग्न रहेको भन्दै पीडितहरूले यसअघि नै पूरक उजुरी दिएका छन् । सो उजुरीको आधारमा पोखरा उपमहानगरपालिकाले रकम अपचलनबारे अध्ययन गरेर प्राविधिक प्रतिवेदन प्रहरीलाई दिइसकेको छ ।

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आएपछि सो रकम खर्च गर्ने र गराउने प्रक्रियामा लामिछाने संलग्न रहेको संसदीय छानबिन समितिको ठहर छ ।

समितिले संसदमा बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने निर्णय गरेको छ । समितिको सिफारिस अनुसार गोर्खा मिडियाका सञ्चालकहरू अध्यक्ष गितेद्रबावु (जीबी)राई, सदस्य कुमार रम्तेल तथा प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीविरुद्ध मुद्दा चल्ने भएको छ ।

सुर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् । सुर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा यसअघि नै अदालतमा मुद्दा दर्ता भइसकेको छ । थप अनुसन्धान गर्दा रकम हिनामिनामा संलग्न देखिएकाहरूलाई पूरक अभियोग लैजान मिल्ने कानुनी व्यवस्था छ ।

सुर्यदर्शन सहकारीका संचालकहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय पोखरामा ९ सय ७१ जनाले रकम हिनामिना गरेको भन्दै जाहेरी दिएका थिए । सहकारीका पूर्वअध्यक्ष जीबी राईविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । उनी अहिले फरार छन् । सुर्यदर्शनको १ अर्ब ८ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रतिक्रिया