चाडपर्व लक्षित खुल्यो सहुलियत पसल, के के पाइन्छ सहुलियतमा ?
अखबार टुडे
प्रकाशित:
२०८१, ३ आश्विन

काठमाडौं । खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सञ्चालनमा ल्याएको छ । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी कम्पनीले बिहीबारबाट सहुलियत पसल सञ्चालनमा ल्याएको हो ।

सहुलियत पसलमा कम्पनीले खरिद गरेका खाद्य वस्तुहरू पाइन्छ । त्यसका साथै दुग्ध विकास संस्थानले उत्पादन गरेको घ्यू र साल्ट ट्रेडिङले बिक्री वितरण गर्दै आएको नुन पनि सहुलियत पसलमा राखिएको छ ।

सहुलियत पसलमा चामल, दाल, नुन, तेल, चिनी, चियापत्ती, घ्यू, जिरा, चिउरा, पिठो लगायतका २८ प्रकारका खाद्य वस्तु बिक्रीमा राखिएको छ । त्यस्तै, सहुलियत पसलमा ग्यास सिलिण्डर पनि बिक्रीमा राखिएको छ । उक्त वस्तुमा प्रतिकिलो न्यूनतम पाँच रूपैयाँदेखि अधिकतम दश रूपैयाँसम्म छुट दिइएको छ ।

चामलमा प्रतिकिलो पाँच रूपैयाँदेखि सात रूपैयाँसम्म छुट दिइएको छ भने कर्णालीको सिमीमा प्रतिकिलो सात रूपैयाँ छुट दिइएको छ । यस्तै, चिनीमा पाँच रूपैयाँ, खानेतेलमा सात रूपैयाँ र सबैभन्दा धेरै घ्यूमा प्रतिकिलो १० रूपैयाँ छुट दिइएको छ भने चियापत्ती, नुन र ग्यासमा छुट दिइएको छैन ।

कम्पनीले एक साताभित्र आफ्नो ४२ जिल्लाका ६१ वटा बिक्री केन्द्रमा पनि सहुलियत पसल सञ्चालन गरिसक्ने जनाएको छ । काठमाडौं चक्रपथभित्र होम डेलिभरीको व्यवस्थासमेत छ । कम्पनीका अनुसार पाँच हजार मूल्यभन्दा माथिका सामान खरिद गर्ने ग्राहकले डेलिभरी शुल्क तिर्नु पर्दैन । उक्त सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया