काठमाडौं । आइसिसी विश्वकप लिग–२ : अन्तर्गत आज नेपालले ओमानसँग खेल्दैछ । खेल क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरू हुनेछ ।
क्यानडामा नेपालले आज लिग–२ को दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा नेपाल मंगलबार बिहान घरेलु टोलीसँग १०३ रनको फराकिलो रनले पराजित भएको थियो ।
विश्वकप लिग–२ मा नेपालले कुल पाँच खेल खेलिसकेको छ । त्यसमध्ये नेपालले एउटामात्रै जित हासिल गरेको छ । नेपाल ओमानको चिर परिचित प्रतिद्वन्द्वी हो । ओमानसँग पछिल्लो पाँच भेटमा नेपालले तीन खेल जित्दा २ खेल गुमाएको छ । गत वर्षको अप्रिलमा भएको एसिसी मेन्स प्रिमियर कपमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको थियो ।
नेपालले सिरिजको तेस्रो खेल असोज ६ गते पुनः क्यानडासँग र असोज ८ गते पुनः ओमानसँग खेल्नेछ । एकदिसवीय सिरिजपछि असोज १२ गते क्यानडामै नेपालले त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ ।
त्रिकोणात्मक टी–२० सिरिज खेलेपछि नेपाली टोली अमेरिका भ्रमणमा जानेछ । त्यहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुनेछ । अमेरिका भ्रमणमा नेपालले लिग–२ को त्रिकोणात्मक सिरिज र टी–२० त्रिकोणात्मक सिरिज गरी दुई सिरिज खेल्नेछ ।
लिग–२ को सिरिज अमेरिकाको टेक्सासस्थित ह्युस्टनको प्रिएरी भ्यूमा हुने तय भएको छ । सबै खेल अमेरिकाको स्थानीय समयअनुसार विहान १०ः३० र नेपाली समयअनुसार राति सवा १० बजे सुरु हुनेछ ।