रविले भने- पार्टी जन्मेदेखि नै समस्या आइपर्‍यो
अखबार टुडे
प्रकाशित:
२०८१, १ आश्विन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले छोटो समयमै आफ्नो पार्टीमा हुनुपर्ने, नहुनुपर्ने सबै भएको बताएका छन् । मंगलबार काठमाडौंमा सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लामिछानेले पार्टी जन्मेदेखि नै समस्याले नछोडेको बताएका हुन् ।

सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय समितिले रविलाई समेत कारबाही गर्न सिफारिस गरेको छ । त्यसको भोलिपल्ट आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘छोटो समयमा राजनीतिक पार्टीको जीवनमा हुनुपर्ने, नहुनुपर्ने सबै घटनाक्रमको चाङमाथि उभिएर बसेका छौं । मलाई थाहा छ । यो यात्रामा हामीले अनेकौं भोग्नुपर्यो । जन्मदेखि आजसम्म हामीलाई कुनै न कुनै अप्ठ्याराहरुले छोडेको छैन ।’ ती समस्याहरुमा आफूहरुको कुनै भूमिका नभएको पनि उनले बताए ।

रास्वपाको आगमन नै अरुका लागि समस्या भएको बताउँदै दावी गर्दै उनले रास्वपाले दुईतिहाइ बहुमत नल्याएसम्म यस्ता समस्या आइरहने पनि बताए । ‘आज म यहाँ उभिएर भन्न चाहन्छु, यो समस्या त हुन्छ नै हुन्छ । जबसम्म हुन्छ, तबसम्म रास्वपाले आफ्नो नेतृत्वको सरकार बनाउँदैन’ उनले भने, ‘जबसम्म बहुमत प्राप्त गर्दैन या दुई तिहाइ प्राप्त गरेर रास्वपाले यो देश हाँक्दैन, तबसम्म यी समस्या आई नै रहन्छन् ।’

नागरिकका अपेक्षाहरु धेरै भएका र रास्वपाको सपना पनि ठूलो भएको बताउँदै उनल भने, ‘हामी सानो लडाइँका लागि यहाँ जम्मा भएका होइनौं । हाम्रा अपेक्षाहरु धेरै छन्, नागरिकका अपेक्षाहरु पनि धेरै छन्, त्यसकारण हाम्रो अपेक्षा पनि ठूलो छ ।’ उनले आफूहरुमाथिको प्रहार र आक्रमण पनि त्यहीअनुसार ठूलै भइरहेको बताए ।

प्रतिक्रिया