पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयास, फेरि गोली चल्यो
अखबार टुडे
प्रकाशित:
२०८१, ३१ भाद्र

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ । आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा गोली चलेको छ ।

ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रोपटक हत्याको प्रयास भएको अमेरिकी मिडिया सीएनएनले जनाएको छ । समाचार अनुसार हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दैथिए ।

अमेरिकी अधिकारीहरूका अनुसार पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयास गरिएपनि उनी सुरक्षित रहेको र एक सम्भावित संदिग्धलाई पक्राउ गरि हिरासतमा राखिएको बीबीसीले उल्लेख गरेको छ ।

घटनास्थलमा एउटा एके–४७ हतियार र स्कोप, दुईवटा ब्याकप्याक र एक गोप्रो क्यामेरा फेला परेको समाचारमा उल्लेख छ । सिक्रेट सर्भिस एजेन्टहरूले झाडीबाट राइफलको ब्यारेल देखेपछि संदिग्धमाथि गोली हानेको अधिकारीहरूले जानकारी दिएका हुन् ।
घटनापछि राष्ट्रपति उम्मेदवार ट्रम्पले भने आफूले हार नमान्ने बताएका छन् । उनले समर्थकलाई इमेल लेख्दै भनेका छन्, ‘म सुरक्षित छु । ममाथि फेरि गोली प्रहारको प्रयास भएको छ । तर, म यस्ता घटनाले भने आत्मसमर्पण गर्दिनँ ।’

यसअघि पनि पेन्सिलभेनियाको बटलरमा एक ¥यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो । ट्रम्प बटलरमा मञ्चमा बोल्दै गर्दा गोली चलेको थियो । ट्रम्पले दाहिने कानको माथिल्लो भागमा गोली लागेको हो । उक्त समयमा एक दर्शकको मृत्यु भएको थियो ।

प्रतिक्रिया