निगमको वाइडबडी इटलीबाट भोलि साँझ उड्ने
अखबार टुडे
प्रकाशित:
२०८१, २४ भाद्र

काठमार्डौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाज इटलीबाट भोलि साँझ नेपालका लागि उड्ने भएको छ । निगम स्रोतका अनुसार इटलीको स्थानीय समयअनुसार साँझ ५ बजे नेपालका लागि उड्ने भएको हो । जहाज बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

निगमको वाइबडी जहाज करिब अढाइ महिनाअघि अर्थात असार ९ गते मर्मतका लागि इटलीको नेपल्स पठाइएको थियो । इटालीको एजेन्ट कम्पनी एटीआईटेकले उक्त वाइडबडी जहाजलाई ३० दिनभित्र मर्मत सकेर पठाउने सम्झौता गरेको थियो । तर, एजेन्ट कम्पनीले समयमा मर्मत नगर्दा जहाज ल्याउन ढिलाई भएको एयरलाइन्स स्रोतले जनाएको छ ।

जहाज समयमा मर्मत नहुँदा र उडानहरु रद्द गर्नु पर्दा निगमलाई दैनिक लाखौँ नोक्सान हुँदै आएको छ । यसैबीच अर्को वाइडबडी पनि यही भदौ १२ मा मर्मतका लागि नेपल्स पठाइसकिएको छ । त्यो जहाजको पनि मर्मत सुरु नभइसकेकाले कहिले नेपाल फर्काइने हो, टुंगो नलागेको निगम स्रोतले जनाएको छ ।

प्रतिक्रिया