‘घुम्न आउनु है हाम्रो रुबीभ्याल्ली’ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०८१, २१ भाद्र

काठमाडौं । तपाइँले रुबीभ्याल्ली सुन्नुभएको छ ? सुन्नु त भएको होला, त्यहाँ पुग्नुभएको छ ? काठमाडौंसँग सीमा जोडिएको धादिङको उत्तरी गाउँ रुबीभ्याल्ली पर्यटकीय एवं सांस्कृतिक रुपले धनी भएर पनि सोचेजस्तो प्रचारप्रसार हुन नसक्दा ओझेलमा छ ।

रुबीभ्याल्लीबारे गीतकार एवं फिल्म निर्मात्री छिमी मम्बा तामाङले गीत रचना गरेकी छन् । रुबीभ्याल्ली घुम्न आग्रह गरिएको उक्त गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा उत्तरी धादिङको पर्यटकीय स्थल रुबीभ्याल्लीको सचित्रण गरिएको छ ।

छिमी मम्बाको शब्दरचना, गायक देवराज आले मगरको संगीत र तारा श्रीस मगरद्वारा स्वरवद्ध ‘हाम्रो रुबीभ्याल्ली’ बोल गीतको भिडियो हालै सार्वजनिक गरिएको हो । यो भिडियो गीतकार तथा निर्मात्री छिमी मम्बाकै अफसियल युट्युब च्यानलमार्फत सार्वजनिक छ ।

यस गीतमा गणेश हिमालको काखमा रहेको पर्यटकीय आकर्षणको केन्द्र रुबीभ्याली र त्यस क्षेत्रको पर्यटकीय एवं धार्मिक र सांस्कृतिक पक्षलाई जिवन्त रुपमा चित्रण गरिएको छ ।

रुबीभ्याल्लीको विभिन्न रमणीय स्थलहरमा छायाँकन गरिएको उक्त भिडियो हेर्दा जोकोहीको मन लोभिन्छ । रोशन फ्युबा तामाङको निर्देशन, छायाँकन र सम्पादन रहेको भिडियोमा रञ्जिता तामाङका साथै गीतकार छिमीले पनि अभिनय गरेकी छन् ।
रुबीभ्याली उत्तरी धादिङको एउटा गाउँपालिका हो । बहुमुल्य रुबी ढुंगा पाइने स्थान भएकाले साविकको लापा, सेर्तुङ र तिप्लिङ गाविसलाई समेटेर ‘रुबीभ्याली’ नाम राखेर गाउँपालिका बनाइएको छ । रुबीभ्याल्ली काठमाडौंसँग जोडिएको भएपनि ओझेलमा छ ।

रुबीभ्याली गाउँपालिका र त्यस क्षेत्रको पर्यटकीय, धार्मिक, सांंस्कृतिक तथा सामाजिक सद्भाव र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले निर्मित यस गीतमा ‘म्हेन्दोमाया’ भाकालाई पनि समेटिएको छ । ‘म्हेन्दोमाया’ धादिङ र रसुवाका तामाङ समुदायकको मौलिक लोकभाका हो ।

मौलिक लोकभाका मिश्रित ‘हाम्रो रुबीभ्याल्ली’ बोलको यो गीतले रुबीभ्याल्लीको प्रचारमा टेवा पुग्ने गीतकार छिमीको विश्वास छ । ‘यो गीत रुबीभ्याल्लीलाई चिनाउनकै लागि निर्माण गरिएको हो’ गीतकार छिमीले भनिन्, ‘काठमाडौंनजिकै रहेको पर्यटकीय क्षेत्र रुबीभ्याल्लीको प्रचार गर्न सकेमा सरकारले तय गरेको समृद्ध नेपालको नारामा थप टेवा पुग्ने छ ।’

छिमीले तामाङ भाषा चलचित्र निर्माण गर्दै आफ्नो समुदायको कला, संस्कृतिको प्रवद्र्धन गर्दै आएकी छन् । उनी निर्मित पछिल्लो चलचित्र ‘प्रङना’ अर्थात ‘गरिब’ले केही दिनअघि मात्र ‘२९औँ तामाङ चलचित्र प्रदर्शन दिवस’को अवसरमा आयोजित कार्यक्रममा ‘सर्वाेत्कृष्ट चलचित्र’को अवार्ड प्राप्त गरेको थियो ।

प्रतिक्रिया