पलेशालाई ६५ लाख रूपैयाँ राशीको पुरस्कार
अखबार टुडे
प्रकाशित:
२०८१, १९ भाद्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिक खेलमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले ६५ लाख रूपैयाँ राशीको पुरस्कार दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नकाटी ६५ लाख रूपैयाँ नै दिने बताए ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । पलेशा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

प्रधानमन्त्री ओलीले नेपालबाट कुनैपनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताए ।

उनले भने, ‘नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु । यस पटक हामीले पारालिम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौं । पलेशाको जित नेपालीको जित हो । यसले औधी खुसी तुल्याएको छ । नेपालको इज्जत बढाएको छ ।’ प्रधानमन्त्री ओलीले यो कीर्तिमान इतिहासमा लेखिने बताए ।

सो अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया