इजरायलमा सरकारविरुद्ध उग्र प्रदर्शन
अखबार टुडे
प्रकाशित:
२०८१, १७ भाद्र

तेल अभिभ, (एजेन्सी) । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध उग्र प्रदर्शन भइरहेको छ । आज सोमबार हजारौँ मानिसहरु सडकमा उत्रिएका छन् ।

गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि प्रदर्शन सुरु भएको हो । प्रधानमन्त्री नेतन्याहुको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्नुपर्छ भन्ने जनताको माग छ ।

हातमा इजरायली झण्डा बोकेर तेल अभिभ, जेरुसेलम लगायतका सहरहरूमा हजारौँ प्रदर्शनकारीहरु निस्किएका छन् । नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न धेरै काम नगरेको उनीहरूको आरोप छ ।

गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा सयौँ मानिसलाई बन्धक बनाइएको थियो । आइतबार शान्तिपूर्ण रूपमा आन्दोलन सुरु भएको थियो । तर, पछि भीडले पुलिस अवरोधहरू तोड्दै तेल अभिभका प्रमुख राजमार्गहरू अवरुद्ध पारेका थिए ।

इजरायलको ट्रेड युनियनले सोमबार देशव्यापी हडतालको घोषणा गरेको छ । बन्धकहरूको रिहाइका लागि सरकारले जतिसक्दो चाँडो हमाससँग सम्झौता गर्नुपर्ने उनीहरूको माग छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले शनिबार दक्षिणी गाजाको रफाहमा सुरुङमा ६ वटा शव फेला पारेको बताएको थियो । शनिबार आइडीएफ उनीहरूसम्म पुग्नुअघि नै बन्धकहरूलाई मारिएको बताइएको छ ।

प्रतिक्रिया