अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०८१, १६ भाद्र

बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताएका छन् । प्रेस सेन्टर बाँकेले आइतबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको उल्लेख गरे ।

‘म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन’, अध्यक्ष प्रचण्डले भने, ‘पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दैछु ।’

आफूलाई अध्यक्ष भइरहने रहर नभएको उहाँले दाबी गर्नुभयो । तर आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उनको भनाइ छ । ‘अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन । मेरो लागि अध्यक्षभन्दा प्रचण्ड भन्ने नै ठूलो छ’, उनले भने, ‘तर अहिले नै नेतृत्वबाट यताउता गर्न पाउनुहुन्न भन्ने कायकर्ता पङ्क्तिको ठूलो प्रेसर छ ।’

पार्टीलाई सुदृढ बनाउन देशव्यापी अभियान सञ्चालन गरेको जनाउँदै उहाँले प्रदेशस्तरीय भेलामा भएको परामर्शको आधारमा पार्टीलाई एकरुपता र एकढिक्का बनाएर अगाडि बढाउने उनले उल्लेख गरे । ‘हाम्रो पार्टी एकढिक्का छ, पार्टी फुट्छ भन्ने कुरा निराधार हो’ उनले भने, ‘त्यत्तिकै कोही नेता बन्दैन, लामो कालखण्ड गुजारेर नेतृत्व स्थापित हुने हो, अब केही तयारी गरेर नेतृत्व हस्तान्तरण गर्ने हो ।’

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई व्यवस्थित गर्दै विचार मिल्ने दलहरूबीच पार्टी एकता गर्दै जाने योजना रहेको बताए । उनले आफूले राम्रो गर्दागर्दै पनि दुई ठूला दल एमाले र नेपाली कांग्रेसले बलमिच्याइँ गरेर प्रधानमन्त्रीबाट हटाएको आरोप लगाए ।

प्रतिक्रिया