इटहरी । बालबालिकाको सौन्दर्य र बौद्धिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले कोशी प्रदेशको इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’ प्रतियोगिता सुरु भएको छ । ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीको संयुक्त आयोजनामा यो प्रतियोगिता सुरु भएको हो ।
आयोजकले यो सनिवार पहिलो अडिसन समेत सम्पन्न गरेको छ । पहिलो अडिसनमा इटहरी लगायत आसपासका बालबालिकाहरुको सहभागी रहेको थियो । आयोजक संस्था मध्येका एक ओपन स्पेस प्रालीका निर्देशक सरोज श्रेष्ठका अनुसार पहिलो अडिसनमा ८० जना बालबालिकाहरुको उत्साहजनक सहभागीता रहेको थियो ।
उनका अनुसार अडिसन दिएका ८० मध्येबाट ५० जनालाई निर्णायकको अंकको आधारमा छनौट गरिएको छ । बालबालिकाको सर्वाङ्गिण विकासलाई ध्यानमा राखेर यो प्रतियोगिता सञ्चालन गरिएको हो ।
पहिलो अडिसनमा निर्णायकिय भुमिकामा ‘मिस एसईई इटहरी २०२४’ की बिजेता अंशु पौडेल, ग्लोबल ड्रीम्स म्यानेजमेन्टका सिईओ स्मित कार्की, ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’कि इभेन्ट म्यानेजर सजिना श्रेष्ठ र डान्स कोरियोग्राफर डेभिड धिमाल रहेका थिए । अडिसन गोर्खा होटलको सभाहलमा भएको थियो । अडिसनको अघि आयोजकले अभिभावकहरुलाई ओरेन्टेसन समेत गराएको थियो ।
आयोजक संस्था ग्लोबल ड्रीम्सका निर्देशक स्मित कार्कीका अनुसार पहिलो अडिसनमा कार्य व्यस्तताका कारण सहभागी हुन नसकेका अभिभावकहरुले पुनः अर्को अडिसनको लागी आग्रह गरिहेका कारण चाँडै दोश्रो तथा अन्तिम अडिसन गरिने बताए । कार्की मिस नेपालका कोशी प्रदेश इन्चार्ज समेत हुन् । यसअघि यी २ आयोजक संस्थाले थुप्रै सौन्दर्य र सांगीतिक कार्यक्रमहरु आयोजना गरिसकेका छन् ।
अडिसनमा ८ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरुले सहभागी जनाएका थिए । अब दोश्रो अडिसन पश्चात् प्रतियोगितामा सहभागी बालबालिकाहरुका लागि आयोजकले २५ दिने तालिमको व्यवस्था गरेको छ । यस तालिममा व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर क्षमतामा वृद्धि, योगा लगायतका विभिन्न महत्वपूर्ण विषयहरुमा प्रशिक्षण दिइनेछ ।
त्यस्तै सहभागीहरुको पोर्टफोलियो फोटो तथा भिडियोसुट समेत गतिनेछ । तालिमपछि ग्राण्ड फिनालेमार्फत बिजेताको चयन गरिनेछ भने बिजेताले ३० हजार नगद सहित विभिन्न आकर्षक पुरस्कारहरु जित्नेछन् ।