
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्नेगरी योजना ल्याउन निर्देशन दिएका छन् ।
बिहीबार सरकारका मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट तथा कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य कामबारे भएको प्रस्तुतिपछि प्रधानमन्त्री ओलीले देश र जनताका लागि गर्न पर्ने र गर्न खोजिएका कामका सम्बन्धमा यस्तो निर्देशन दिएका हुन् ।
बजेट कम भएको स्थितिमा सुशासन कायमसहित फटाफट काम गरेर शत प्रतिशत विकास खर्च गर्ने हो भने अर्थतन्त्र चलायमान हुने उनले स्पष्ट गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘हामी जागिर खाइरहेका छैनौँ । हामी देश र जनताको सेवा र विकासका लागि काम गरिरहेका छौँ । भावी सन्ततिका लागि काम गरिरहेका छौँ । यो सेवा हाम्रो तलवसँग तुलना हुन सक्दैन । हाम्रो लक्ष्य निर्धारण गराइ काल्पनिक नहोस्, वस्तुगत होस् । पूरा गर्न कठिन हुन्छ भनेर लक्ष्यहरु नै कमजोर राखिनु हुन्न । हामीले कठिन मेहनताका साथ काम गरेर हरेक कुरामा लक्ष्यमा पुग्नुपर्छ । अबका तीन महिनामा इतिहासका अरु कुनै तीन महिनाभन्दा बढी मेहनत गरेर काम गरौँ ।’
गल्ती वा भ्रष्टाचार गरिएन भने कुनै समस्या नआउने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले डिजिटल नेपालको फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन, व्यवासायिक तालिम, विषादी र मिसावटरहित खाद्य पदार्थको आपूर्ति गराउन, उपकरण र स्रोत साधनको पूर्ण उपयोग गर्नमा पनि ध्यान दिए ।
प्रधानमन्त्री ओलीले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा कामका लागि गएको फाइलमा बढीमा तीन दिनभित्र काम गर्न निर्देशन दिएका छन् ।
उनले सूचना र प्रविधिलाई प्राथमिकता दिन, श्रमिक निर्यातभन्दा पनि उद्यमशीलता र रोजगारी सृजनामा लाग्न, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जनता रोजगार कार्यक्रममा रुपान्तरण गर्न, मातृशिशु स्वास्थ्यमा सुनौला हजार दिनको मान्यतालाई ध्यान दिन, समग्रमा मान्छेको आम्दानीको बाटो बढाउन सम्बन्धित मन्त्री र सचिवलाई ध्यानाकर्षण गराए ।
