संसदबाट टिआरसी विधेयक पारित : दिगो शान्ति स्थापनाको उद्देश्य पूरा हुने विश्वास
अखबार टुडे
प्रकाशित:
२०८१, ३० श्रावण

काठमाडौं । प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त विधेयकमाथि छलफल गरेर पारित गरिएको हो ।

यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ (टीआरसी) सभामा प्रस्ताव गरेका थिए ।

सरकारले २५ फागुन २०७९ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार कानुन समितिले विधेयक पास गर्नुअघि मुख्य विवादित विषयमा प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूले सहमति जुटाएका थिए ।

दिगो शान्ति स्थापनाको उद्देश्य पूरा हुने विश्वास
विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिसभा सदस्यहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयकले मुलुकमा दिगो शान्ति स्थापना हुने विश्वास व्यक्त गरेका छन् । बुधबार प्रतिनिधिसभाबाट विधेयक पारित भएलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनीहरूले ढिलै भएपनि विधेयक पारित भएकाले सबैतिर सकारात्मक सन्देश प्रवाह भएको बताए ।

सत्तापक्षको मुख्य सचेतकसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले मेलमिलापको बाटो तय गरेर दिगो शान्ति स्थापनाको उद्देश्य पूरा गर्ने सामथ्र्य बोकेको विधेयक पीडितमैत्री रहेको बताए । उनले भने, ‘ यो वियेधक देशभित्र रहेका पीडित र विभिन्न राजनीतिक दलका पार्टीलाई ध्यान दिएर तथा उहाँहरूसँग व्यापक छलफल गरेर ल्याएको हुनाले उहाँहरूले खुला दिलले विधेयकको स्वागत गर्नुभएको छ । विधेयकले पीडितलाई न्यायको पहुँच पु¥याउने र पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउन सफल हुनेछ ।’

यस्तै, प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले टिआरसी विधेयक विश्वको अनुकरणीय र उच्चस्तरको विधेयक रहेको बताए । ‘विश्वमा कतै नभएको काम नेपालमा भएको छ, यसको गर्व गर्नुपर्छ’ उनले भने, ‘यो विधेयकको मेरो दिलले खुलेर प्रशंसा गर्छु ।’
यस्तै, प्रतिनिधिसभा सदस्य हितराज पाण्डेले समाजमा शान्ति स्थापना गर्नका लागि तथा वेपत्ता भएको योद्धालाई सार्वजनीकरण गर्नका लागि ढोका खुलेको प्रतिक्रिया दिए । उनले भने, ‘यो विधेयक पारित हुँदा द्वन्द्व प्रभावित हामीहरू सबैजना खुसी छौँ ।

देश नै खुसी छ । हामी सबैले शान्ति प्रक्रियाका काम अगाडि बढाउन खोजिरहेका छौँ । सबै कामको महत्त्वपूर्ण विधेयक आज प्रतिनिधिसभाबाट पारित भएको छ । केही प्रक्रिया त बाँकी नै छ । जेहोस् १८ वर्षसम्म अड्किएर बसेको थियो ।’

प्रतिनिधिसभा सदस्य मनिष झाले पनि टिआरसी विधेयक पारित हुँदा देश अगाडि बढ्दै गरेको सन्देश दिएको प्रतिक्रिया दिए । उनले भने, ‘विधेयक सम्झौता र उदारता तथा कठोरता पनि छ, तर भ्रष्ट जहिले पनि भ्रष्ट हो यो हदम्याद हुनुहुँदैन ।’

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई आज प्रतिनिधिसभाको बैठकले बहुमतबाट पारित गरेको हो ।

प्रतिक्रिया