काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने प्रस्ताव अगाडि सारेका छन् । नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएक उनले तीनवटा प्रस्ताव अघि सारेका छन् ।
पार्टीको जारी स्थायी समिति बैठकमा उनले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव राखेका हुन् । तर, नेतृत्वको संयोजत्व भने प्रचण्ड नै हुनुपर्ने उनको प्रस्ताव छ ।
हालको केन्द्रीय समिति भंग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयनको बाटो अपनाउनुपर्ने उनले प्रस्ताव गरेका छन् ।
जारी बैठकमा ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठ लामो उनको प्रस्ताव सो प्रस्तावमा शर्माले नयाँ परिस्थिति अनुसार रुपान्तरण र विकासको अर्थमा बुझ्ने चेतना अभिवृद्धि गर्न जरुरी रहेको र पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहनको मान्यतामा रही नेतृत्व हस्तान्तरणका विकल्प प्रस्ताव गरेका छन् ।
साथै, नेतृत्व पुस्तान्तरण गर्ने हो भने अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने प्रस्ताव गरेका छन् ।