हसिनाका छोरा भन्छन्- मेरी आमाले शरणका लागि कतै पनि आवेदन दिएको छैन
अखबार टुडे
प्रकाशित:
२०८१, २६ श्रावण

वासिंगट । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेद जोयले शनिबार आफ्नी आमाले शरणका लागि आवेदन दिएको हल्लालाई अस्वीकार गरेका छन् ।

एएनआईसँगको एक विशेष अन्तर्वार्तामा सजीब वाजेद जोयले आफू वा आफ्नो परिवारले सत्ताको लोभ नराखेको र बङ्गलादेशको हितका लागि काम गर्नु प्राथमिकता रहेको बताएका छन् ।

‘यी सबै हल्ला हुन्, मेरी आमाले कतै पनि शरणका लागि आवेदन दिनुभएको छैन । उहाँले आफ्नो जीवनको अधिकांश समय बङ्गलादेशमा बिताउनुभएको छ र देश बाहिर बस्ने उहाँको कुनै चाह छैन । यस कार्यकालको अन्त्यमा उहाँको योजना सेवानिवृत्त भएर आफ्नो गाउँको घरमा बस्ने थियो । राजनीतिमा संलग्न भए वा नभएपनि उहाँ आफ्नो घर फर्कन चाहनुहुन्छ’, उनले भने ।

शेख हसिनाको राजनीतिमा फर्कने योजनाको बारेमा सोधिएको प्रश्नमा उनले भने, ‘यस विषयमा म जवाफ दिन सक्दिनँ, उहाँलाई नै सोध्नुपर्नेछ । मेरो परिवारमा हामीमध्ये कसैलाई पनि शक्ति वा राजनीतिको लोभ छैन । मेरो परिवारका बाँकी सदस्यहरू विदेशमा बसोबास गर्दै आएका छन् । म लगभग ३० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएको छु । तर हामी हाम्रो देशका लागि काम गर्न चाहन्छौँ ।’

सजीबले बङ्गलादेशमा लोकतन्त्र र कानून व्यवस्था पुनर्स्थापना गर्न आफ्नो परिवारको प्रतिबद्धता पनि व्यक्त गरे । ‘हामी देशको यस्तो अवस्था हेर्न सक्दैनौँ । लोकतन्त्र पुनर्स्थापना गर्न, कानूनी व्यवस्था पुनर्स्थापना गर्न, हाम्रा देशका जनतालाई सुरक्षित राख्न जे आवश्यक छ, हामी गर्नेछौँ’, उनले भने । उनले बङ्गलादेशमा अल्पसङ्ख्यकहरूको दुर्दशा र कानून प्रवर्तनको अभावलाई पनि प्रकाश पारेका छन् ।

प्रतिक्रिया