काठमाडौं । बंगलादेशको संसद भंग भएको छ । राष्ट्रपति महममद शाहबुदिनले मंगलबार संसद भंग गरेको बंगलादेशको अखबार डेली स्टारले उल्लेख गरेको छ ।
केही महिनाअघि मात्रै चुनाव भएर बुहमत ल्याएकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत शरणमा पुगेको भोलिपल्ट संसद विघटन भएको खबर सार्वजनिक भएको हो । अहिलेको संसद बंगलादेशको १२औँ संसद हो । गत जनवरी ७ मा भएको चुनावबाट यो संसद चलन भएको थियो ।
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा प्रदर्शन उग्र हुँदै गएको छ । प्रदर्शनबिच प्रधानमन्त्री हसिनाले राजीनामा दिएको दिनमा सोमबार एकैदिन १३५ जनाको मृत्यु भएको छ ।
प्रदर्शनकारीहरूले अस्पताल, होटेल र सडकमा आगजनी गरेका थिए । यसबाहेक हसिनाको पार्टी आवामी लिगका सांसद र नेताका घरमा तोडफोड भयो । कयौँ जिल्लामा आवामी लिगका नेताको हत्या गरिएको छ । हिंसापछि पूरै देशमा अराजकता र अशान्तिको स्थिति छ ।