बंगलादेशमा सेनाले अन्तरिम सरकार गठन गर्ने
अखबार टुडे
प्रकाशित:
२०८१, २१ श्रावण

काठमाडौं । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर विदेश पलायन भएसँगै देशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताएका छन् ।

बीबीसीका अनुसार प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गर्न जाने बताउँदै केही दिनमै कुनै समाधान हासिल हुने पनि बताएका छन् । तर सरकारको नेतृत्व कसले गर्ने भन्ने स्पष्ट नभएको बताइएको छ ।

सोमबार बंगलादेशको राजधानी ढाकामा हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका थिए । प्रधानमन्त्री हसिना विमान चढेर सोमबार साँझ दिल्लीको हिन्डन एअरबेसमा अवतरण गरेकी छन् । उनी भारतमा नै बस्छिन् वा अन्यत्र जान्छिन् भन्ने अहिलेसम्म थाहा भइनसकेको समाचार आएको छ ।

कतिपय स्थानीय सञ्चारमाध्यमले उनी लन्डन जान सक्ने विवरण प्रकाशन गरिरहेका छन् । तर त्यसको पुष्टि भइसकेको छैन ।
यसअघि रोएटर्सले सैनिक हेलिकप्टर चढेर उनी र उनको परिवारका सदस्यहरू भारतका लागि हिँडेको जनाएको थियो ।

सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीले प्रदर्शन गर्न थालेपछि आन्दोलन चर्किएको थियो । उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका थिए । टेलिभिजनमा प्रसारित दृश्यमा प्रधानमन्त्रीको सरकारी निवासमा प्रदर्शनकारीहरू छिरेको देख्न सकिन्छ ।

केही प्रदर्शनकारीले त्यहाँ लुटपाट गरेको दृश्य सार्वजनिक भएको छ । केही मानिसले कुर्सी र सोफा बोकेर बाहिर हिँडेको देखिन्छ । प्रदर्शन गर्न सडकमा पुगेका मानिसहरूले हसिना सत्ताबाट बाहिरिएपछि हर्षोल्लास गरेका छन् ।

बीबीसीका अनसार प्रदर्शनकारीहरूले गृहमन्त्रीको निवासमा तोडफोड गरेका छन् भने सहरमा ठूलो परिमाणमा लुटपाट भइरहेको छ । गृहमन्त्रीको निवासबाट धुवाँ निस्केको देखिएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया