बंगलादेशकी प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर भारततर्फ भागेको दावी
अखबार टुडे
प्रकाशित:
२०८१, २१ श्रावण

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स, बिबिसी, अल्जजिरा लगायतले स्थानीय मिडियालाई उदृत गर्दै हसिनाले राजीनामा दिएको समाचारमा उल्लेख गरेका छन् ।

हसिनाले ढाकास्थित प्रधानमन्त्री निवास ‘गणभवन’बाट सेनाको हेलिकप्टर चढेर सुरक्षित स्थानमा गएको समेत विभिन्न समाचार संस्थाले लेखेका छन् । उनी देश छाडेर हेलिकप्टरमा भारततर्फ उडेको दाबी गरिएको छ । ‘उनी र उनकी बहिनीले सुरक्षित ठाउँका लागि गणभवन छाडेका छन्,’ स्रोतले एएफपीसँग भनेका छन्, ‘उनले सम्बोधन गर्न चाहेकी थिइन्। तर त्यसका लागि अवसर भने पाइनन् ।’

सोमबार प्रदर्शनकारीहरू पनि प्रधानमन्त्री निवासमा छिरेको बंगलादेशको समाचार दैनिक प्रोथोम अलोलाई उदृत गर्दै अल्जजिराले समाचारमा लेखेको छ । बंगलादेशका सेना प्रमुख वाकेर–उज–जमनले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन् ।

बंगलादेशमा विभिन्न जिल्लामा जारी आन्दोलनमा आइतबारमात्रै कम्तिमा ९१ जना मारिएका छन् । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै दसौं हजारको संख्यामा उत्रिएका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा एकै दिन ९१ जना मारिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बंगलादेशमा आरक्षणविरूद्ध विद्यार्थीको आन्दोलन हिंसात्मक बन्दै गएको थियो । करिब दुई महिनादेखि बंगलादेशमा आन्दोलन भइरहेको छ । अहिलेसम्म उक्त आन्दोलनमा चार सय भन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया