लगानी बोर्डद्वारा दुई खर्ब ७१ अर्ब २६ करोड लगानी स्वीकृत
अखबार टुडे
प्रकाशित:
२०८१, १० श्रावण

काठमाडौं । लगानी बोर्डले आर्थिक वर्ष २०८०/८१ मा जलविद्युत, सोलार र सिमेन्टसम्बन्धी विभिन्न नौवटा परियोजनाका लागि दुई खर्ब ७१ अर्ब २६ करोड रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

बोर्डले २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत परियोजना लागि ७ अर्ब ९३ करोड रूपैयाँ लगानी स्वीकृत गरेको छ । यस्तै, ६३ मेगावाटको छुजुंग खोला जलविद्युत परियोजनाका लागि ९ अर्ब ३० करोड र ४९. ९५ मेगावाटको दाना खोला जलविद्युत आयोजनाका लागि ९ अर्ब ६८ करोड लगानी स्वीकृत गरेको छ ।

यसैगरी, ४४.५२ मेगावाटको सानी भेरी जलविद्युत परियोजनाका लागि ९ अर्ब ४६ करोड, ९०० मेगावाटको माथिल्लो कर्णालीका लागि एक खर्ब ६२ अर्ब ४९ करोड र १६६ मेगावाटको सुपर तमोरका लागि ३४ अर्ब ५९ करोड लगानी स्वीकृत भएको छ ।

४२ मेगावाटको अपर मोदी एका लागि १० अर्ब ८ करोड र २५० मेगावाटको कोहलपुर तथा वाणगंगा सौर्य ऊर्जा परियोजनाका लागि २१ अर्ब १० करोड स्वीकृत भएको छ । हुवासिन सिमेन्ट उद्योगका लागि ६ अर्ब ६३ करोड लगानी स्वीकृत गरेको हो ।
बोर्डको समन्वयमा अरूण तेस्रो जलविद्युत परियोजनाको हेडरेस टनेलको ‘ब्रेकथ्रु’ भई उक्त परियोजनाको उत्पादनतर्फ ७५ प्रतिशत बढी निर्माण सकिएको बोर्डको भनाइ छ। ट्रान्समिसन लाइनतर्फ ३८.२१ प्रतिशत निर्माण भएको उल्लेख छ ।

यस्तै, तल्लो अरूण जलविद्युत परियोजनाका जग्गा प्राप्तिको काम सुरू गरिएको बोर्डले जनाएको छ । यस्तै, माथिल्लो त्रिशुली–१ जलविद्युत परियोजनाको निर्माणको कार्य तीव्र गतिमा अगाडि बढेको बोर्डले जनाएको छ ।

अपर मर्स्याङ्दी–२ जलविद्युत परियोजना, सौर्य ऊर्जा परियोजना (२५० मेगावाट कोहलपुर र वाणगंगा) र दमक क्लीन इन्डस्ट्रियल पार्कको सम्बन्धमा भने परियोजना विकास सम्झौताको मस्यौदा तयार गरी विकासकर्तासँग वार्ताको चरणमा छ ।

त्यस्तै, डाबर नेपालको क्षमता वृद्धि लगायतका लागि लगानी सम्झौताको मस्यौदा तयार भई वार्ताको चरणमा रहेको पनि बोर्डले जनाएको छ । (सेतोपाटीबाट)

प्रतिक्रिया