लण्डन हुँदै क्यानडा पुगे ‘राई इज किङ’
अखबार टुडे
प्रकाशित:
२०८१, ४ श्रावण

काठमाडौं । लोकप्रिय गायक राजेशपायल राई लण्डन हुँदै क्यानडा पुगेका छन् । म्युजिकल वल्ड टुरकै क्रममा रहेका ‘राई इज किङ’का रुपमा चर्चित राजेशपायल लण्डनबाट सिधै क्यानडा उडेका हुन् ।

यो २० जुलाई अर्थात शनिबार क्यानडाको क्यालगरीमा हुने ‘नेपाली मेला’मा राजेशपायलले विशेष सांगीतिक प्रस्तुती दिँदैछन् । क्यानडा जानुअघि उनी दुवई हुँदै लण्डन पुगेका थिए । लण्डनमा नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायलले लण्डनमा सिसेक्पा तङनामको अवसरमा किरात याक्थुङ चुम्लुङ, युकेले आयोजना गरेको कार्यक्रममा धमाकेदार प्रस्तुती दिएका थिए ।

‘राजेशपायल राई लाईभ इन युके’ नाम दिइएको उक्त कार्यक्रममा राजेशपायलले करिब तीन दर्जन आफ्ना लोकप्रिय गीतहरु गाएका थिए । नेपालकै सर्वाधिक व्यस्त गायक राजेशपायल ‘स्टेज किङ’का रुपमा समेत चिनिन्छन् ।

दुवईमा कन्सर्ट गर्नुअघि उनी हङकङमा प्रस्तुत भएका थिए । पछिल्लो समय देश बाहिरै व्यस्त रहेका राजेशपायललाई क्यानडामा भव्य स्वागत गरिएको थियो । लण्डनबाट क्यानडाको क्यालगरीस्थित विमानस्थलमा ओर्लदा राजेशपायल राईलाई क्यालगरी नेपाली सोसाइटीले भव्य स्वागत गरेको थियो ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित क्यालगरी सोसाइटी, क्यानडाले ‘नेपाली मेला’को आयोजना गर्न लागेको हो । मेलाको यो दोस्रो संस्करणमा नेपाली गायन क्षेत्रका मेगास्टारलाई दर्शकसमक्ष प्रस्तुत गर्न पाउँदा खुसी लागेको आयोजकमध्येका एक श्रीकान्त अर्यालले बताए ।

राजेशपायलको विशेष प्रस्तुती रहने यो मेलामा २० देखि २५ हजारसम्म नेपाली कम्युनिटीलगायतका दर्शक आउने आयोजकले आँकलन गरेको छ । कार्यक्रममा २५ देखि ३० वटासम्म आफ्ना चर्चित गीतहरु गाउने राजेशपायलले बताए । उनले भने, ‘दुवई र लण्डनमा जस्तै यहाँ पनि म आफ्ना ३० वटासम्म गीत गाउनेछु ।’

सांगीतिक वल्ड टुरका क्रममा राजेशपायल पछिल्लो ६ महिनायता आराम समेत गर्न पाएका छैनन् । नेपालमा पनि कार्यक्रम र कन्सर्टमै व्यस्त हुने भएकाले आराम गर्ने समय समेत नभएको उनको भनाइ छ । क्यानडापछि राजेशपायल क्रोशिया र डेनमार्क जानेछन् । उनले भने, ‘अब केही महिना युरोपियन मुलुकमै व्यस्त हुनेछु ।’

प्रतिक्रिया