प्रधानमन्त्री प्रचण्डको दावी- कांग्रेस र एमाले आफैं मिलेका होइनन्, कसैले मिलाएको हो
अखबार टुडे
प्रकाशित:
२०८१, २९ असार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा प्रतिनिधित्व गर्ने पहिलो र दोस्रो दल मिल्दा लोकतन्त्र कमजोर र निरंकुशता बढ्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्ताव राख्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अन्य मुलुकहरूमा यस्तो नहुने उल्लेख गर्दै अहिले कांग्रेस र एमालेले गरेको सहमति अनौठो भएको बताए ।

‘पहिलो र दोस्रो मिल्दा लोकतन्त्र कमजोर र निरंकुशता प्रबर्धन हुन्छ । यहाँ त सरकार मात्र बनाउने होइन संविधानमाथि छेडछाडसमेत गर्न खोज्दै हुनुहुन्छ’ उनले भने, ‘तपाईंहरूको यात्रा प्रतिगमततर्फ हो । हस्ताक्षर कसका घरमा गर्नुभयो ? सहमति कुन समयमा गर्नुभयो ? त्यसको हिसाब नेपाली जनताले राखेका छन् ।’ उनले कांग्रेस एमाले आफैं नमिलेको पनि दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘कांग्रेस–एमाले आफैं मिलेका होइनन् । तपाईंहरूलाई कसैले मिलाएको हो । अहिले राष्ट्रिय सहमतिको बर्को ओड्नुभएको छ । राष्ट्रिय सहमति लुकेर हुँदैन ।’ प्रचण्डले कांग्रेस र एमाले सुशासनको डरले गर्दा मिलेको पनि दाबी गरे । पहिलो र दोस्रो ठूलो दललाई आदर्शले जोडेको भए ठीकै हुन्थ्यो तर डरले जोड्यो । सुशासनकोको डरले तपाईंहरूलाई जोडेको हो ।’

माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले संविधान निर्माणमा माओवादीको ठूलो लगानी रहेको भन्दै यसलाई कमजोर नबनाउने र बनाउन पनि नदिने स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको उल्लेख गर्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने बताए । संविधान जस्तो संवेशनशील कार्यमा खेलाची नगर्न पनि चेतावनी दिए ।

नेपाली कांग्रेस र नेकपा एमालेप्रति आक्रोशित रुपमा प्रस्तुत भएका प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै आफूलाई संसद नै विघटन गर्ने बानी परेकाहरुले आफूलाई नैतिकताको पाठ सिकाउने प्रयास गरेको आरोप लगाए ।

उनले भने, ‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरुलाई र त्यसको समर्थन गरेका साथीहरुले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरियो । ति साथीहरुलाई म यत्ति भन्न चाहन्छु, यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा धेरै ठूलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन’

उनले उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनहरूको जगमा बनेको यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको भन्दै आउने दिनमा पनि त्यसरी नै बचाइने बताए ।

प्रतिक्रिया