
विराटनगर । विराटनगरमा एक युवकको हत्या भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक तीनजना युवक गम्भीर अवस्थामा भेटिएका थिए ।
घाइतेमध्ये कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । घाइतेहरुलाई अस्पताल पु¥याएपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको बताएको छ ।
मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको एसपी कार्कीले बताए । उनले भने, ‘सानो चोट देखिन्छ तर भित्रसम्म चोट परेकाले मृत्यु भएको जस्तो देखिन्छ । घाइतेको शरीरमा पनि धारिलो हतियारले घोपेको चोट छ ।’
प्रहरीकाअनुसार घाइते रायको अवस्था गम्भीर छ । उनको कोखा र ढाडमा धारिलो हतियारले घोपेको चोट छ । मण्डलको पाखुरा र ढाडमा घोपिएको चोट छ । उनीहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा कसको संलग्नता छ भन्ने खुलेको छैन । प्रहरी उपरीक्षक कार्कीले अनुसन्धान भइरहेको बताए । प्रहरीका अनुसार उनीहरु आफैंआफैं झगडा गरेको जस्तो देखिएको छ । प्रहरीले घटनास्थलबाट एउटा मोबाइल समेत बरामद भएको प्रहरीले जनाएको छ ।
