
काठमाडौं । नेपाली संगीतकी मुर्धन्य गायिका तारा थापा लामो समयपछि प्रत्यक्ष गुन्जिएकी छन् । जब गाउन थालिन्, तब यी चर्चित गायिकालाई दर्शकले झण्डै दुई घण्टा ताली साथ दिए ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार ‘तारा थापा स्वर्णिम साँझ–२०८१’मा प्रस्तुत भएकी उनले आफ्ना एक दर्जनभन्दा बढी लोकप्रिय गीतहरु गाएर दर्शक तथा श्रोतालाई मनोरञ्जन प्रदान गरेकी थिइन् । क्यान्सर रोगीहरुको सहयोगार्थ लाफा रुङ्ग फाउन्डेसनले ‘तारा थापा स्वर्णिम साँझ’ आयोजना गरेको हो ।

कार्यक्रममा गायिका तारा थापाले ‘कहाँ हो जाने’, ‘मेरो मायाको संसार’, ‘ किनार भेट्न’, ‘तारी नदेउ माझीदाइ’, ‘हजार चोटी’, ‘सबैले दिने माया’, ‘सान्नानी हाँसन दिल खोलेर’, ‘फूल झरेपनि काँडा झर्दैन’, ‘सयथरी बाजा एउटै ताल’ जस्ता आफ्ना लोकप्रिय र कालजयी गीतहरु प्रस्तुत गरेकी थिइन् । उनलाई गायनमा गायक देवराज आले, सागर आले, मनोज थापा र गायिका सरिता शाही, दीपा सुहाङ र अप्सु योगीले साथ दिएका थिए ।
याम गुरुङ र नृत्यांगना रिना थापा मगरको समूहले गायिका थापाका गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा लाफा रुङ्ग फाउन्डेसनको तर्फबाट गायिका तारा थापालाई सम्मान गरिएको थियो ।
कार्यक्रम गीतकार वसन्त वित्यासी थापाको संयोजकत्वमा सम्पन्न ‘तारा थापा स्वर्णिम साँझ’का लागि संगीतकार अशोककुमार राईको संगीत संयोजकत्व गरेका थिए ।
नृत्य शिरोमणि भैरबबहादुर थापाको प्रमुख आतिथ्यता आयोजित कार्यक्रमको सभापतित्व फाउन्डेसनका अध्यक्ष चन्द्रज्योति आलेले गरेकी थिइन् । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषदु सदस्य चेतन सापकोटा, नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगर, फाउन्डेसनका संस्थापक अध्यक्ष लंकमान रोका मगर, नेपाल मगर महिला संघको अध्यक्ष हिरु राना मगर, वरिष्ठ संगीतकार सिके रसाइली, वरिष्ठ गायिका मिरा राणा, वरिष्ठ संगीतकार दिपक जंगम, राजु सिंह, वरिष्ठ गीतकार विश्व बल्लभलगायतको उपस्थिति थियो । कार्यक्रममा नृत्य शिरोमणि भैरवबहादुर थापालाई सम्मान गरिएको थियो ।