
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व. गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनीका क्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा कोइराला क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्व रहेको स्मरण गर्दै गिरिजाका कारण देशमा प्रजातन्त्र नभएर गिरिजाकै कारण नेपालमा गणतन्त्रसम्म आएको बताए ।
उनले आफूले विद्यार्थी बेलामै गिरिजालाई चिनेको र गिरिजाकै सहयोगमा विश्वविद्यालयको चुनावमा जाँदा आफू पराजित भएको पनि सम्झिए ।
‘गिरिजाबाबु नभएको भए देशमा गणतन्त्र आउँदैन थियो । त्यसैले गिरिजाबाबु २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा अत्यन्तै क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्व हुनुहुन्थ्यो’ देउवाले भने, ‘त्यो कारणले नेपालमा प्रजातन्त्रमात्रै फर्किएन, गणतन्त्रसमेत आएको छ । मैले विद्यार्थी बेलामा नै उहाँलाई चिनेको हो । त्यो बेलामा उहाँले विश्वविद्यालयको चुनावमा समर्थन गर्नुभएको थियो, पहिलो इलेक्शनमा म हारेको हो वास्तवमा । उहाँको समर्थन भएकै कारण पनि म नेविसंघको सभापति भएको हो । उहाँ कहिल्यै नथाक्ने मान्छे हो ।’
