यसरी बदलियो सत्ता समिकरण, पहिलो चरणमा ओलीले सरकारको नेतृत्व गर्ने
अखबार टुडे
प्रकाशित:
२०८१, १९ असार

काडमाडौं । गत फागुन २१ मा नाटकीय ढंगले बदलिएको सत्ता समीकरण अन्ततः दुई महिना पनि राम्ररी टिकेन । जतिखेर नेपाली कांग्रेससँगको समिकरण माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रातारात उल्टाएका थिए । अहिले यसरी नै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई गलहत्याएका छन् ।

माओवादीलाई सत्ताबाट पन्छाएर एमाले र कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको छ । सोमबार राति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले सहमति पत्रमा हस्ताक्षर गरेको एमालेका एक नेताले जानकारी दिए ।

उनका अनुसार निर्वाचन, शासकीय प्रणाली लगायतमा सुधार गर्ने र एमाले नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको हो । यद्यपि, उक्त सहमति भने दुवै नेताले गोप्य राखेका छन् । आ—आफ्ना दलमा छलफल गरेर निर्णय नभएकाले अहिले नै सार्वजनिक नगर्ने सहमति भएको ती नेताको भनाइ छ ।

दुई दलबीच सहमति हुँदा कांग्रेस, एमालेका सीमित नेतामात्रै उपस्थित थिए । स्रोतका अनुसार सहमति गर्दा कांग्रेसबाट सभापति देउवा, उनकी पत्नी आरजु राणा देउवा, प्रमुख सचेतक रमेश लेखक र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की मात्रै सहभागी थिए ।

यस्तै, एमालेबाट अध्यक्ष ओली र महासचिव शंकर पोखरेलमात्र सहभागी थिए । मंगलबार (आज) आ—आफ्ना दलमा विस्तृत छलफल गरेर सहमति पत्र सार्वजनिक गर्ने र कार्यान्वयनमा लैजान सहमति भएको बताइएको छ । उक्त सहमतिअनुसार संसदको बाँकी कार्यकालमा कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन् । पहिलो चरणमा राष्ट्रिय सहमतिको सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्नेछन् भने त्यसपछि कांग्रेस सभापति देउवाले नेतृत्व गर्ने सहमति भएको छ ।

उनीहरूबीच संविधानको धारा ७६ (२) अनुसार नै सरकार गठन गर्ने सहमति पनि भएको छ । त्यसको सुनिश्चितताका लागि कांग्रेस एमालेका नेताहरू सोमबार राति नै राष्ट्रपतिसँग परामर्श गर्न शीतल निवास जाने तयारी गरेका थिए । तर, अन्तिममा उनीहरू शीतल निवास गएनन् ।

प्रतिक्रिया