एकीकृत समाजवादीमा सर्वसम्मत नेतृत्व चयनको तयारी
अखबार टुडे
प्रकाशित:
२०८१, १७ असार

काठमाडौं । नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशन आज (आइतबार)बाट सुरु हुँदैछ । असार २० गतेसम्म चल्ने महाधिवेशनको आज उद्घाटन सत्र हुनेछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने महाधिवेशनको उद्घाटन सत्रअघि बिहान ११ बजे भृकुटीमण्डपबाट ¥याली निस्कने एकीकृत समाजवादीले जानकारी दिएको छ ।

२०७८ भदौमा नेकपा एमालेबाट विभाजन भएर नयाँ पार्टी गठन गरेयता एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको हो । तैप्नि एमालेकै निरन्तरता भएकाले दसौं महाधिवेशन भनिएको एकीकृत समाजवादीले जनाएको छ ।

यसअघि नै एकीकृत समाजवादीमा केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ । बिहीबार पार्टी केन्द्रीयमा बसेको ८९औं सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गर्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार महाधिवेशनको हलबाट अनुमोदन हुनेगरी केन्द्रीय समिति २९९ सदस्यीय बनाउने निर्णय भएको छ । साथै पार्टीमा अहिले रहेको सम्मानित नेताको पद पनि कायमै राख्ने सहमति भएको उनले बताए ।

यस्तै, पार्टीमा वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिनेछ । आगामी महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा महिला सिट सुरक्षित रहने व्यवस्था गरिएको छ । उनका अनुसार महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि पाँच प्रतिशत मनोनीत गर्ने व्यवस्था रहेपनि त्यो मनोनीत नगर्ने सहमति भएको छ ।

पार्टीमा एक अध्यक्ष र एक महासचिव रहने व्यवस्था छ । आवश्यकताअनुसार वरिष्ठ नेताको पद सिर्जना गरिने उनको भनाइ छ । नेतृत्व चयन सर्वसम्मत रूपमा गर्ने तयारी गरिएको छ । यदि प्रतिस्पर्धा भएमा त्यसलाई स्वीकार गरेर गइने खतिवडाले बताए । तर अधिकांश महाधिवेशन प्रतिनिधिको धारणा सहमतिबाटै नेतृत्व चयनको रहेको उनको भनाइ छ ।

उनका अनुसार ८० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू नेतृत्वमा प्रतिस्पर्धा नभई सहमति होस् भन्ने पक्षमा रहेका छन् । एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल र घनश्याम भूसालबीच प्रतिस्पर्धा हुने चर्चा छ ।

प्रतिक्रिया