- हरि गोपाल प्रधान
आजभन्दा सात दशकपहिले अर्थात् विक्रम सम्वत् २०१५ सालमा स्थापना भएको नेपाल वायुसेवा निगम अहिले निकै कमजोर हुन लागेको छ । २०२७ सालसम्मको १० वर्षको अवधिमा बोइङ ७२७ दुईवटा, बोइङ ७५७ दुईवटा तथा ट्वीनअटर बाह्रवटा खरिद गरेर दक्षिणपूर्वी एसियाका सशक्त हवाई कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको निगम त्यसको ३० वर्षपछिदेखि कमजोर र शिथिल हुन लागेको हो । धेरै नाफामा गएको निगमलाई राजनितिकरणले आ–आफ्ना स्वार्थका लागि प्रयोग गरेका हुनाले स्थापनाकालको ३३ वर्षपछि अर्वौ रुपियाँ ऋण बोक्नुपरेको छ ।
निगमलाई कमजोर पार्दै लगिएपछि उडानक्षेत्रहरू कटौती गरिएको थियो र जहाजको सङ्ख्या पनि कम पार्दै लगिएको थियो । यात्रुसङ्ख्या घटेको कारण देखाई युरोपका ङ्खय्राङ्ककर्ट, पेरिस र लन्डन, ढाका, पटना, माल्दीभ्स, श्रीलंका, कलकत्ता, सिंगापुर उडानहरू कटौती गरिएका थिए र त्यसै बखत ट्रान्जिट प्वाइन्टका रूपमा रहेको दुबईको उडान पनि कटौती भएको थियो । निगमको स्थापना भएदेखि यता निगमका लागि दुर्भाग्यका दिनहरू स्थापनाकालको दुई दशकपछिदेखि मात्रै सुरु भएका थिए । दुर्भाग्यले चारैतिरबाट घेरिरहेको समयमा ती उडानहरूलाई कटौती गर्नुपरेको थियो ।
सरकारी लगानी ३८ करोड रुपियाँबाट यात्रा आरम्भ गरेको निगमले आजभन्दा डेढ दशकअघिसम्म पनि आफ्नो लगानी उठाई १५ अर्बभन्दा बढी रकम कमाएको थियो । त्यस बेला १७ वटाभन्दा बढी अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गरिन्थ्यो भने नेपालभित्रका ४२ स्थानमा हवाईसेवा उपलब्ध गराइएको थियो । अहिले १० वटा अन्तर्राष्ट्रिय क्षेत्रमा मात्र उडान गरिन्छ र नेपालभित्रका १७ स्थानमा मात्र हवाईसेवा उपलब्ध छ । अन्तर्राष्ट्रिय उडान ७ वटा र राष्ट्रिय उडान २५ वटा कटौतीमा परेका छन् ।
स्थापनाकालको ३० वर्षपछिदेखि ओरालो लागेको निगमको स्थिति अहिलेसम्म पनि उकालो लाग्न सकिरहेको छैन । पहिले २ वटा बोइङ ७२७ बेचिएका थिए । त्यसपछि जहाजको अभावलाई पूर्ति गर्ने निहुँमा धमिजा काण्ड, जेटभाडा काण्ड, चाइना साउथ वेस्ट काण्ड, लाउडा काण्ड आदि अनेकाँै काण्डहरू भए ।
यी काण्डहरूबाट प्राप्त करोडौँ रकमबराबरको सम्पत्ति केही व्यक्तिहरूको नाममा भयो, अनि निगम कमजोर हुने स्थितिमा पुग्यो । खरिद गर्दा कमिसन, बिक्री गर्दा कमिसन, भाडामा ल्याउँदा कमिसन र फिर्ता पठाउँदा कमिसन गरी कमिसन नै कमिसनको जालोमा बेरिएपछि २४ वटा जहाज भएको निगमसँग अहिले १३ वटामात्र जहाज बाँकी छन् । जसमध्ये ५ वटा चीनियाँ विमानहरु ग्राउण्डेड भएका बसेका छन् । ४ वटा ट्वीनअटर मध्ये २ वटा मात्र चलिरहेको छ ।
नेपाल वायुसेवा निगमलाई दुहुनु गाई बनाएर प्रयोग गर्ने व्यक्तिहरू धेरै देखिए । पदीय जिम्मेवारी बिर्सेर निजी स्वार्थमा अल्झिने व्यक्तिहरूकै कारणबाट निगमले घाटा सहनुपरेको कुरामा कसैको विमति हुन सक्तैन । नीतिनिर्धारण र व्यवस्थापन, दुवै क्षेत्रमा देखापरेको केही बाहुल्यले गर्दा निगम कमजोरी स्थितिमा पुग्यो । त्यसको एकमात्र कारण सुनको फूूल पार्ने कुखुरालाई एकैचोटि धेरै सुन कमाउने लोभमा काटेर मारेजस्तै व्यवहार निगमलाई गरियो ।
एकातिर निजी हवाईसेवाहरूको सञ्चालन र अर्कातिर निगममा भएको विमानको अभाव, प्रत्यक्ष देखिएका यी दुई कारणहरूले गर्दा आन्तरिक तथा बाह्य दुवै प्रकारका पर्यटकहरूलाई निगमले समुचित सेवा दिन सकिरहेको छैन । नेपालभित्रको आन्तरिक राजनीतिक द्वन्द्वबाहेक सिधा बाटो नपाएर पनि विदेशी पर्यटकहरू नेपाल आउन पाइरहेका थिएनन् र छैनन् पनि ।
तर, अहिले त्यो समस्या जस्ताको तस्तै छैन, परिस्थिति केही फेरिएको छ । निगमसँग विमान अपुग छ र राजनीतिक परिस्थिति पनि केही सङ्लो भएको छ । त्यसैले अब पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य रूपमा बृद्धि हुने आशा सबैमा पलाएको छ । निगमले ७ वर्षअघिदेखि दुबई र हालसालै मात्र साउदी अरवको दमाम पनि उडान थालेको तथा विश्वका ठूला–ठूला वायुसेवा निगमहरूले उडान गर्ने दुबई, दमामसँग सिधा हवाई सम्पर्क भएकोले युरोप र अमेरिकाका पर्यटकहरू नेपाल आउन सजिलो भएको हुँदा पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य रूपमा बृद्धि हुने आशा पलाउनु पनि स्वाभाविकै हो ।
खाडी राष्ट्रहरूमा काम गरिरहेका करिब १० लाख नेपाली मजदुरहरूको आवतजावतमा पनि यो उडानले सुविधा पु¥याएको छ । दोहा, दुबई र रियादसँग सिधा हवाई सम्पर्क भइरहेको कारणले गर्दा विदेशी पर्यटकहरूले भारत हुँदै नेपाल आउनुपर्ने बाध्यता पनि हट्न गएको छ । राष्ट्रका लागि यो ठूलो उपलब्धि हो ।
अहिले फेरि निगमका विषयमा विभिन्न चर्चाहरू चल्न थालेका छन् । चर्चाहरू यस प्रकारका छन्- १. वित्तिय क्षमतामा विकास गर्ने, २. रणनीतिक साझेदारीमा जाने र ३. निगमलाई व्यवसायीक क्षमताको विकास गर्दै मितव्ययी भएर संगठन संरचनाको सुधार गर्ने योजना ल्याएको छ । त्यसैले निगमप्रति फेरि झिनो आशा पलाउन थालेको छ । धेरै लामो समयपछि भए पनि अब त निगम पुनर्जीवित हुने हो कि भन्ने संकेत यो चर्चाले देखाएको छ ।
यो चर्चाले गर्दा अब नेपालको राष्ट्रिय ध्वजावाहक विमानको आधिकारिक संस्थानको साखमा वृद्धि हुने र त्यसबाट राष्ट्रको प्रतिष्ठासमेत बढ्ने आशा पलाएको छ । विदेशी मुद्राको आर्जनमा प्रमुख भूमिका निर्वाह गर्ने निगमको विकास र विस्तार वास्तवमा सक्षम व्यवस्थापनबाट मात्रै हुन सक्छ र निगमको विकास र विस्तार हुनु भनेको नेपालको पर्यटनक्षेत्रको विकास हुनु पनि हो ।
राम्रो व्यवस्थापनका साथ जुट्ने हो भने नेपाल वायुसेवा निगम राष्ट्रिय अर्थतन्त्रको सबल मेरुदण्डका रूपमा स्थापित नहोला भन्ने छैन । निगमलाई भ्रष्टाचारको अखडाका रूपमा अथवा राष्ट्रिय सम्पत्ति ब्रम्हलुट गर्ने स्थानका रूपमा लिन हुँदैन, राष्ट्रिय ध्वजाबाहक विमानको सम्मान गर्ने संस्थाका रूपमा निगमलाई हेरिनुपर्छ । अनि मात्र निगमले ऋण र ऋणको ब्याजसमेत तिरेर तथा आन्तरिक खर्च धानेर पनि नयाँ–नयाँ विमानहरू किन्न सक्छ ।
निगमलाई साधन, स्रोत, पुँजी र पर्यटकको खाँचो परेको होइन, केवल इमानदार, सक्षम र निगमप्रेमी–राष्ट्रपे्रमी व्यक्तिको खाँचो परेको मात्र हो । नेपालमा भूकम्प भएको बेला र कोरोना (कोभिड १९) महामारीमा औषधी लगायत नेपालमा अप्ठयारो पर्दा जहिले पनि नेपाल वायुसेवा निगमले विदेशमा बस्ने नेपाली र नेपालमा बसेका विदेशलाई गन्तव्य स्थानमा पु¥याउने, खाध्यान्न ढुवानी जस्ता काम समेत गरेर देशमा सेवा गर्ने लगायत नेपालमा अप्ठयारो पर्दा जहिले पनि नेपाल वायुसेवा निगमलाई सम्झीन्छन जस्तै देशमा हवाई ईन्धनको आपूर्ति नहुँदा निगमको विमानले विदेशबाट इन्धन आपूर्ति समेत गरेको थियो र आन्तरिक उडानका अन्य विमानहरुलाई पनि इन्धन वितरण गरेको थियो ।
भूकम्प गएको समयमा र कोरोना (कोभिड १९) महामारीमा पनि औषधीजन्य पदार्थको ओसारपसार लगायत विदेशमा बस्ने नेपालीहरुलाई र नेपालमा बस्दै आएका पर्यटकलाई गन्तव्यस्थानमा पु¥याउने र अन्य तवरले पनि सेवा पु¥याइरहेको छ ।
निगमको व्यवस्थापनपक्षले अधिकतम आय र न्यूनतम खर्चलाई प्राथमिकता दिनुपर्छ अनि कर्मचारीको मनोबल उच्च राखिनुपर्छ । यति गर्न सकिने हो भने निगमसम्बन्धी सम्पूर्ण कामहरू सफल हुन धेरै समय लाग्ने छैन । सरकारले अब निगमको व्यवस्थापनपक्षका सिलसिलामा इमानदार प्रयास गर्नु आवश्यक छ ।
(लेखक हरि गोपाल प्रधान वरिष्ठ फोटो पत्रकार एवं गीतकार समेत हुनुहन्छ)