राजेशपायल दुवईमा, भोलि याक एण्ड यतिमा प्रस्तुत हुँदै
अखबार टुडे
प्रकाशित:
२०८१, १५ असार

काठमाडौं । लोकप्रिय गायक एवं मेगास्टार राजेशपायल राई दुवई पुगेका छन् । यही २९ जुन अर्थात भोलि शनिबार वर दुवईमा आयोजना हुने ‘राजेशपायल राई लाईभ इन दुवई’मा प्रस्तुत हुन उनी शुक्रबार बिहान दुवई अवतरण गरेका हुन् ।

नेपालकै सर्वाधिक लोकप्रिय तथा व्यस्त गायक राजेशपायल राईले शुक्रबार वर दुवईस्थित याक एण्ड यति एभरेष्ट क्लवमा धमाकेदार प्रस्तुती दिँदैछन् । जसका लागि सम्पूर्ण तयारी भइसकेको आयोजकले जनाएको छ ।

रातको १० बजेदेखि बिहान ४ बजेसम्म हुने डिजेसहितको उक्त कार्यक्रममा राजेशपायलले आफ्ना नयाँ तथा पुराना गरी करिब ३० वटा चर्चित र लोकप्रिय गीतहरु गाउने भएका छन् । ‘स्टेज किङ’का रुपमा समेत चिनिएका ‘राई इज किङ’ अर्थात राजेशपायल राई म्युजिकल वल्ड टुरकै क्रममा छन् । उनी वल्ड टुरकै क्रममा दुवई पुगेका हुन् ।

सांगीतिक कार्यक्रमको दौरानमा संसारमा रहेका नेपाली दर्शकको मन जित्दै आएका राजेशपायलको यस पटकको दुवई कन्सर्ट पनि सभ्य र भव्य हुने आयोजकको अपेक्षा छ ।

दुवई कार्यक्रम सक्नेवित्तिकै उनी युके र क्यानडाको यात्रा गर्नेछन् । दुवईबाट उनी सिधै युके जानेछन् । सिसेक्पा तङ्नामको अवसरमा जुलाई १३ तारिखका दिन युकेमा ‘राजेशपायल राई लाईभ कन्सर्ट’ आयोजना हुँदैछ । यस्तै, जुलाई २० मा क्यानडामा हुने आफ्नो कार्यक्रमका लागि त्यसतर्फ प्रस्तान गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया