टि-२० विश्वकप : अफगानिस्तानलाई हराउँदै फाइनलमा दक्षिण अफ्रिका
अखबार टुडे
प्रकाशित:
२०८१, १४ असार

काठमाडौं । दक्षिण अफ्रिका जारी आइसीसी टि–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । आज बिहान ट्रिनिडाड एन्ड टोबेगोको ब्रायन लारा रंगशालामा भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो ।

यससँगै दक्षिण अफ्रिका पहिलोपटक टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा ५६ रन मात्र बनाएको थियो। दक्षिण अफ्रिकाले ८.५ ओभरमा निर्धारित लक्ष्य पूरा गरेको हो । अफगानिस्थानका अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाएका थिए । अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेका थिएनन् ।

पहिलोपटक सेमिफाइनल खेलेको अफगानिस्तान दक्षिण अफ्रिका तीव्र गतिको बलिङ आक्रामणसामू निरिह बन्न पुगेको हो । दक्षिण अफ्रिकाका लागि मार्को जान्सेन र तब्राइज साम्सीले ३÷३ , कागिसो रबडा र एनरिच नोर्त्याले २÷२ विकेट लिए ।

जवाफी ब्याटिङ गर्दै दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक २९ रन र एडेन मार्करामले २३ रन बनाए। क्विन्टन डे ककभने ५ रनमा आउट भए। अफगानिस्थानका लागि फजलहक फारुकी १ विकेट लिए । दक्षिण अफ्रिकाले समूह चरणमा नेपाल, बंगलादेश, नेदरल्यान्ड्स र श्रीलंकालाई हराएको थियो ।

त्यस्तै, सुपर–८ को समूह २ मा इंग्ल्यान्ड,अमेरिका र वेष्टइण्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको थियो । अष्ट्रेलिया र बंगलादेशलाई हराउँदै इतिहासमा पहिलो पटक अफगानिस्थान सेमिफाइनलमा पुगेको थियो। शुक्रबार दोस्रो सेमिफाइनल भारत र इङ्ल्यान्डबीच हुनेछ ।

प्रतिक्रिया