बंगलादेशका कुख्यात जल्लादको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८१, ११ असार

ढाका, (एजेन्सी) । बंगलादेशका सबैभन्दा खतरनाक जल्लादको कारागारबाट रिहा भएको एक वर्षपछि सोमबार मृत्यु भएको छ । प्रहरीका अनुसार उनले मुलुकका केही कुख्यात सिलसिलेवार हत्याराहरू (सिरियल किलर), युद्ध अपराध र विद्रोहको षड्यन्त्रमा दोषी ठहरिएका विपक्षी राजनीतिज्ञहरूलाई फाँसी दिएका थिए ।

गत जुनमा रिहा भएपछि ७० वर्षीय शाहजहाँ बौयाले एक जल्लादका रूपमा आफ्ना अनुभवहरूको वर्णन गर्दै सबैभन्दा बढी बिक्री हुने पुस्तक लेखेका थिए । उनले आफूभन्दा ५० वर्ष कम उमेरकी युवतीसँग केही समयका लागि विवाह गरेका थिए र हालैका साताहरूमा किशोरीहरूसँगका साना क्लिपसहितका टिकटकबाट तहल्का मच्चाएका थिए ।

उनलाई सोमबार बिहान राजधानी ढाकाबाहिरको औद्योगिक सहर हेमायतपुरमा आफ्नो घरमा छाती दुखेपछि ढाकाको सुहरावर्दी अस्पताल लगिएको प्रहरीले बताएको छ । ढाकाको एक प्रहरी चौकीका प्रमुख साजिब डेले भने, ‘उनलाई मृतावस्थामा ल्याइएको थियो, चिकित्सकहरूले उनको मृत्युको वास्तविक कारण पत्ता लगाएका छैनन् ।’

‘उनलाई सास फेर्न गार्हो भएको थियो’, बौयाका घरधनी अबुल काशेमले भने, ‘उनले १५ दिनअघि मात्र हाम्रो कोठा भाडामा लिएका थिए, उनी एक्लै बस्थे ।’

बौयाले हत्याको अभियोगमा ४२ वर्षको कारागार सजाय काटिरहेका थिए । तर उनले कारागारहरूमा दिएका दर्जनौँ फाँसीले उनको सजाय घटाउन सहयोग गर्यो र गत वर्ष ढाकाको शीर्ष कारागारबाट उनी रिहा भए ।

मानवाधिकार समूह एमनेस्टी इन्टरनेसनलका अनुसार मृत्युदण्डको सजायको मामिलामा बङ्गलादेश विश्वमा तेस्रो स्थानमा छ र दोषीहरूलाई फाँसी दिने जिम्मेबारी दिन्छ ।

शिक्षित मार्क्सवादी क्रान्तिकारी बौया सन् १९७० को दशकमा प्रतिबन्धित सर्वहारा विद्रोहीहरूसँग सामेल भएका थिए । सर्वहारा विद्रोहीहरूले छिमेकी भारतको कठपुतलीका रूपमा रहेको सरकारलाई ढाल्ने प्रयास गरिरहेका थिए ।

उनलाई सन् १९७९ मा प्रहरीसँगको गोली हानाहानमा एक ट्रक चालकको मृत्यु भएको अभियोगमा दोषी ठहर गरिएको थियो ।
आफ्नो मुद्दाको १२ वर्षको अवधिमा उनले चार कैदीले एक जल्लादलाई मालिश गरेको देखेर जल्लादहरूलाई दिइने ‘प्रथम श्रेणी’ व्यवहारमा ध्यान दिए ।

‘एउटा जल्लादसँग धेरै शक्ति हुन्छ’, उनले आफैँलाई भने र स्वेच्छाले आफ्नो सेवा गरे । कारागारका अधिकारीहरूका अनुसार बौयाले कूल २६ फाँसी दिएका छन् । तर उनले उनी ६० फाँसीमा संलग्न भएको बताएका छन् ।

उनको हातबाट मर्नेहरूमा सन् १९७५ को कूको षड्यन्त्र बुन्ने र मुलुकका संस्थापक नेता एवं वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिताको हत्यामा दोषी ठहरिएका सैन्य अधिकारीहरू पनि रहेका थिए ।

मानवाधिकार कार्यकर्ताहरूका अनुसार बङ्गलादेशको आपराधिक न्याय प्रणालीमा गहिरो त्रुटि रहेको छ तर बौयाले उनीहरूको आलोचनालाई बेवास्ता गरेका छन् । यद्यपि उनका अनुसार उनले फाँसी दिएका मध्ये कम्तीमा तीन जना निर्दोष थिए ।

फेब्रुअरीमा जल्लादका रूपमा उनको वर्षहरूलाई लिएर पुस्तक प्रकाशित भयो र उक्त पुस्तक बङ्गलादेशको सबैभन्दा ठूलो वार्षिक पुस्तक मेलामा ‘बेस्ट सेलर’ बन्यो ।

उनको ९६ पृष्ठको पुस्तकले मुलुकलाई ब्रिटिश औपनिवेशक शासकहरूबाट विरासतमा प्राप्त भएको डोरीले झुन्ड्याउने प्रक्रियाको वर्णन गर्दछ ।

उनले उक्त प्रक्रियालाई लापरवाहीपूर्ण तरिकाले वर्णन गरेका छन् र मृत्युदण्ड उन्मूलन गर्ने बहसमा कहिल्यै सहभागी भएनन् । उनले मुलुकका केही विवादास्पद हस्ती र सिरियल किलरहरूको अन्तिम क्षणहरूमाथि प्रकाश पारेका छन् ।

प्रतिक्रिया