हङकङमा बन्यो भीम लिम्बूको ‘खुल्यो है खुल्यो’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०८१, १० असार

काठमाडौं । गायक भीम लिम्बू सेनेहाङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । केही समयअघि मात्र ‘मिन्जिमा ए’ बोलको पालम ल्याएका भीमले अहिले लोकशैलीको ‘खुल्यो है खुल्यो’ बोल गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
गायक भीम लिम्बूको अफिसियल युट्युब च्यानल ‘भीम लिम्बू’मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई छायाँकन हङकङमा गरिएको हो ।

हङकङलाई कर्मथलो बनाउँदै आएको निर्देशक युगल पोमूले निर्देशन गरेका यस भिडियोमा कृष्ण सेनेहाङ, विशाल सेनेहाङ, जेनिफर लिम्बू र रेश्मा साम्पाङ राईको अभिनय रहेको छ । निर्देशक पोमूले यस भिडियोलाई फेमिलियर शैलीमा तयार गरेका छन् ।

प्रायः नृत्यपरक भिडियो निर्देशन गर्दै आएका पोमूले यस गीतको भिडियोलाई एउटै फ्लोरमा सक्ने प्रयास गरेका छन् । भिडियोमा लिम्बू समुदायको संस्कृति झल्काउनुका साथै युवापुस्ताको रोमान्टिक जीवनशैलीलाई चित्रण गर्न खोजिएको छ ।
दर्शक तथा श्रोताले टपक्क टिप्न सक्ने लोकशैलीको यस गीतको संगीत चर्चित संगीतकार ताराप्रकाश लिम्बूले गरेका हुन् भने शब्दरचना बरिष्ठ गीतकार डा कृष्णहरि बरालको रहेको छ ।

मज्जाको राईको छायाँकन र अनिलकुमार महर्जनको सम्पादन रहेको यस भिडियोका लागि डान्स कोरियोग्राफी सुक सामेखाम लिम्बूले गरेका हुन् ।


गायक भीमले आफ्नो पछिल्लो यस गीतबाट निकै आशावादी रहेको बताए । विशेषगरी पूर्वेलीका गीतका लागि चर्चित भीमले भने, ‘यसअघिका गीतहरुभन्दा यो केही फरक छ । दर्शक तथा श्रोताले पनि त्यो पक्कै महशुुस गर्ने छन् ।’

गायक भीमका ‘धानै नाचिन्छ’, ‘माया मेरो झुटो रे’, ‘हाते काटेर’, ‘फेसबुकैले’लगायतका गीत चर्चित छन् । हालैमात्र सार्वजनिक लिम्बू संस्कृतिमूलक पालम ‘मिन्जिमा ए’ पनि अहिले चर्चामा छ । यसैबेला भीम ‘खुल्यो है खुल्यो’ गीतको भिडियो लिएर आएका हुन् ।

प्रतिक्रिया