
काठमाडौं । सत्तारुढ प्रमुख तीन दलले राजदूतको भागबण्डा टुंगो लगाएका छन् । बिहीबार साँझ सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले हाल रिक्त रहेको ११ देशको राजदूतमा भागबण्डा टुंग्याएको हो ।
गत जेठ २४ गते बसेको मन्त्रिपरिषद बैठकले ११ जना राजदूतलाई फिर्ता बोलाएको थियो । बिहीबार साँझ तीन दलका शीर्ष नेताबीच भएकोे छलफलमा एमालेले ८ देशको राजदूत पाउने समझदारी भएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई र माओवादी केन्द्रले एक देशको राजदूत पाउने शीर्ष नेताहरुबीच सहमति भएको एक नेताले बताए । राजदूत फिर्ता बोलाउँदा माओवादी केन्द्रको कोटामा राजदूत बनेकाहरु फिर्ता नबोलाएका कारण अहिले एकजना मात्र दिइएको बताइएको छ ।
यस्तै, शुक्रबार मन्त्रिपरिषद् बैठकअगावै केही राजदूत नियुक्त हुन सक्ने स्रोतको भनाइ छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इरान जाँदैछन्, त्यसअघि राजदूतको नाममा मोटामोटी सहमति निकाल्न खोजिएको स्रोतको भनाइ छ ।
साथै, बैठकमा सहमतिबाट बजेट पास गर्ने, शीर्ष नेताबीच उत्पन्न भएका मनोमालिन्य छलफल गरेर टुंग्याउने, गठबन्धन अझै कसिलो बनाउँदै जानेबारे छलफल भएको बताइएको छ ।